सुर्खेत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विककाे घटनामा सुर्खेत प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ । बुधबार प्रहरीले आफ्नो अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक (डीएसपी) मोहनजंग बुढ्थापाले बताए।
’प्रहरीले आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ,’ उनले भने, ‘अब मुद्दा सरकारी वकिल कार्यालय प्रवेश भयो।’ उनका अनुसार, घटनासँग सम्बन्धित केही प्राविधिक रिपोर्टहरू प्राप्त भइसकेको र केही आउने क्रममै रहेको पनि उनले बताए ।
बाँकी रिपोर्टहरू अदालतमा मुद्दाको सुनुवाइ हुँदै गर्दा पनि पेस गर्न सकिने डीएसपी बुढ्थापाले जानकारी दिए । ‘प्रहरीले आफ्नो तर्फबाट अनुसन्धानको कार्य सम्पन्न गरिसकेकोले अबको कानुनी प्रक्रिया अदालत र सरकारी वकिलको कार्यालयमार्फत अघि बढ्नेछ,’ उनले भने । गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् ।
फागनु २३ गते शनिवार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका–४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले घटनास्थलबाट नै एक १६ वर्षे नाबालकलाई नियन्त्रणमा लिएको थियो, जसले इनिसाको प्रेमी भएको बयान दिएका छन् ।
इनिसाका परिवार तथा आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै फागुन २४ गते अन्य तीनको नाममा निवेदन दिए । प्रहरीले ती तीन जना नाबालकलाई सोही दिन पक्राउ गर्यो । दुई हप्ता अघिदेखि प्रहरीले वैज्ञानिक तरिकाले अनुसन्धान गर्ने भन्दै केन्द्रबाट सीआईबी, नेपालगन्जबाट पोलिग्राफ, सीडीआर एनालिसिसहरू लगायतका विज्ञहरुको टोली सुर्खेत आएको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीराज शाहीका अनुसार यी सबै टोलीहरूले अनुसन्धान गरेर फर्किसकेका छन् । उनीहरुले तयार पारेका रिपोर्टहरू केही आइसके भने केही आउन बाँकी छ । प्रहरीले भने हालसम्मको अनुसन्धान प्रतिवेदन अब सरकारी वकिल कार्यालय प्रवेश गराएको हाे ।
घटना घटेको १८ दिनसम्म इनिसाको शव भने प्रदेश अस्पतालको शव गृहमा छ । इनिसाका बुबा इन्द्रले न्याय नमिलेसम्म शव नबुझ्ने बताएका छन् । ‘मेरो छोरीमाथि जघन्य अपराध भएको छ, बलात्कारपछि हत्या भएको छ, न्याय मर्नु भएन,’ उनले भने, ‘निष्पक्ष तरिकाले अनुसन्धान हुनुपर्यो, न्याय नपाएसम्म शव उठाउँदैनौँ ।’


