भादगाउँ, २ वैशाखः बिस्का जात्रा भन्नेवित्तिकै भैलखः तान्ने र योसिंद्यः उभ्याउने जात्रा प्रसिद्ध भए पनि मध्यपुरथिमि क्षेत्रमा मनाइने जिब्रो छेड्ने जात्रा र स्विनिखः(बत्तीस खटको) जात्रा पनि उत्तिकै महत्वपूर्ण र प्रसिद्ध रहेको छ । मध्यपुरथिमि क्षेत्रमा विशेषगरी वैशाख १ र २ गते बिस्का जात्रा हुने गरेको छ ।

यी जात्राहरु स्थानीय नेवारी भाषामा चान्हसिया जात्रा (रातको जात्रा), बाँय्लिसिया (बेलुकीको) जात्रा र सुँथसिया (बिहानको) जात्राको रुपमा परिचित रहेको छ । थिमिको जात्रामा विभिन्न ३२ देवी देवताको खट समावेश हुने भएकाले यसलाई स्विनिखः (बत्तीस) खटको जात्रा भन्ने गरिन्छ । जात्रालुहरुले एक आपसमा सिन्दुर लगाउने र सिन्दुरको व्यापक प्रयोग हुने भएकाले यस जात्रालाई सिन्दुर जात्राको रुपमा समेत लिइन्छ । स्विनिखःजात्रा स्थानीय बालकुमारी मन्दिर प्राङ्गणबाट वैशाख २ गते बिहान सुरु हुने जात्रालाई स्विनिखः (बत्तीस खटको) जात्रा भनिन्छ । थिमिको विस्का जात्राको मुख्य आकर्षण पनि यही जात्रा हो । यसलाई सुथसिया अर्थात् बिहानको जात्राका रुपमा लिने गरिन्छ । कुनै समय ३२ खटको सहभागिता हुने भएकाले यसलाई बत्तीस खटको जात्रा भने पनि अहिले विभिन्न कारणले यस जात्रामा २३ खटको सहभागिता रहने गरेको छ । यस जात्रामा मध्यपुरथिमि क्षेत्रका सिद्धिकाली गण, विष्णुवीर गण, दक्षिण बाराही गणलगायतका देवीदेवताको खट सहभागी हुने गर्दछ । यो जात्रा प्रारम्भ गर्न सबै देवीदेवताको खट स्थानीय बालकुमारी मन्दिर परिसर आइसक्नु पर्दछ । नगदेशको सिद्धि गणेश आइसकेपछि एकापसमा सगुन साटासाटगरी जात्रा प्रारम्भ हुने परम्परा रहे पनि केही वर्षअघि भएको एक घटनाका कारण नगदेशको सिद्धिगणेश थिमि आउन बन्द भएपछि उनको सहभागिताबिना नै जात्रा सञ्चालन हुँदै आइरहेको छ । दक्षिण बाराही जात्रा यो जात्रा दधिकोट क्वाछेंस्थित दक्षिण बाराहीको नेतृत्वमा वैशाख १ गते राति सञ्चालन हुने गर्दछ । रातको समयमा हुने भएकाले स्थानीय भाषामा यसलाई चान्हसिया जात्रा पनि भनिन्छ ।

यस जात्रामा दक्षिण बराहीको साथमा दधिकोट हिंचोकस्थित हरिसिद्धी र थिमिको यमलाटोलको अजिमासहित तीन खटको सहभागिता रहन्छ । स्थानीय गुथियारको घरबाट सुरु हुने यो जात्राले दिगुटोल, लाय्कु इनायलाछि, मरुटोल, बालकुमारी चोक, शङ्खधर चोक, क्वाछेंलगायतको स्थानको परिक्रमा गर्दछ । सिद्धिकाली जात्रा स्थानीय इनायक्व टोलबाट सिद्धिकालीको नेतृत्वमा वैशाख १ गते साँझ सुरु हुन्छ । त्यसैले यसलाई स्थानीय भाषामा बाय्लिंसिया अर्थात् बेलुकीको जात्रा पनि भन्ने गरिन्छ । विष्णुवीर जात्रा प्रारम्भ भएलगत्तै स्थानीय राज गणेशको खट सिद्धिकाली आउँछ र यो जात्रा प्रारम्भ हुन्छ । यस जात्रामा सिद्धिकालीको नेतृत्वमा चोदे गणेश, चपाचो गणेश, क्वसी नाः गणेश, दिगु गणेश, गाँचा गणेश र सिवाः गणेशको सहभागिता रहन्छ । विष्णुवीर जात्रा वैशाख १ गते साँझ स्थानीय विष्णुवीर देवताको नेतृत्वमा सुँगाटोलबाट सुरु हुने यस जात्रामा पर्सिक्व गणेश, दताः गणेश, भादे गणेश, थाक्वमा गणेश र गाँताः गणेश गरी छ वटा खटको सहभागिता रहन्छ । यो जात्रा प्रारम्भ गर्न स्थानीय इनायलाछि टोलको राज गणेशको उपस्थिति अनिवार्य मानिन्छ । राज गणेशको उपस्थिति भएपछि जात्रा प्रारम्भ गरी कयकुतांः, पाँगु, इनायलाछि, निगुपुखु, दिगुटोल, भुलाखेल, वाःननि, पोबू, चोदे, दथुटो, वामुने, तछुटोल, सुंगाः टोल, मरुटोललगायतका स्थानको परिक्रमा गरिन्छ । सिद्धिगणेश जात्रा नगदेशको सिद्धिगणेश जात्रा अर्को महत्वपूर्ण र आकर्षण जात्रा हो । थिमि टोलका देवीदेवताहरुको खट बनाई जात्रा हुन्छ भने नगदेशमा सिद्धिगणेशको खट जात्रा मात्र गरिन्छ । जात्रामा नगदेशका हजारौँको जनसहभागिता हुने भएकाले यो जात्राको रौनक बेग्लै हुने गर्दछ । सिद्धिगणेशको जात्रा वैशाख १ र २ गते दुई दिन सञ्चालन हुने गर्दछ ।
वैशाख १ गते राति हुने जात्रालाई स्थानीय भाषामा बाय्लिंसिया जात्रा पनि भन्ने गरिन्छ । स्थानीय लायकुका प्रतिनिधिले सिद्धिगणेशलाई धनिचाः स्वाँ (एक प्रकारको विशेष फुल) चढाएपछि लाछिटोलबाट यो जात्रा प्रारम्भ हुन्छ । यसदिन खटलाई बहाननि, लेंचा, छ्वासो, त्वाःगाः, पाचुननि, कुम्हाःलाछि, न्यागाः, गार्चालगायतको परिक्रमा गराई पुखुसिमा पुगेर सम्पन्न हुन्छ । वैशाख २ गते बिहान अघिल्लो दिनमा झैँ नगदेशका विभिन्न भागको परिक्रमा गरी सिद्धि गणेशलाई बहाखामिल सडक हुँदै सानुच्व पुर् याइन्छ । त्यहाँ नीलबाराहीसँग पूजा थाप्ने कार्य सम्पन्न गरी टिगनीको विभिन्न भागको परिक्रमा गरी नगदेशको न्याःगाः टोलस्थित द्यः छें प्राङ्गणमा पुगेर जात्रा सम्पन्न हुने गर्छ । जिब्रो छेड्ने जात्रा बोडेमा वैशाख २ गते धुमधामका साथ जिब्रो छेड्ने जात्रा गरिन्छ । बोडेमा जिब्रो छेड्ने जात्रा स्थानीय पाँचो गणेशको पूर्वपट्टि रहेको (बोडे उच्च माविको उत्तरपट्टी) मञ्चबाट सुरु गरिन्छ । जिब्रो छेड्ने कमी नाइके र नाइके प्रधानको उपस्थिति भएपछि नाय्खिं बाजा बजाएर सुइरो बनाउने नकर्मीलाई लिन जान्छ । एक महिनासम्म तेलमा डुबाएर राखेको सुइरो (जिब्रो छेड्ने सियो) सहित नकर्मी मञ्चमा आउँछ र पुनः नाय्खिं बाजासहितको टोली जिब्रो छेड्ने व्यक्तिलाई तीन पटकसम्म बोलाउन जान्छ । अन्तमा जिब्रो छेड्ने व्यक्ति परम्परागत पोशाकसहित मञ्चमा आउँछन् । नाइके प्रधानले फूल, अक्षता र पैसासहित दिएको सुइरो (नातु) ले कर्मी नाइकेद्धारा सम्पूर्ण देवतासंग प्राथना गरी जिब्रो छेड्ने कार्य गरिन्छ, त्यसपछि भ्यय् (जिब्रो छेड्ने व्यक्तिले बोक्ने चन्द्राकारको बत्ती, महादीप) बाल्छन् । नाय्खिं बाजाको साथमा जिब्रो छेड्ने व्यक्तिले उक्त भ्यय् बोकेर स्थानीय लाछिबाट लायकु छें, पाचो, तांक्व, विष्णुघाट, भाँगु, दुवाः खाँसी, दःवु, न्हूमंला, खपला, दथुननी, सिचुननी, थिमिला क्वयननी टोल परिक्रमागरी स्थानीय महालक्ष्मी मन्दिरमा जान्छन् । जहाँ जात्रा गरी महालक्ष्मी स्थान पुर्याएको पाचो गणेशको रोहवरमा कर्मी नाइकेले सुइरो निकाल्ने गरिन्छ र प्वाल भएको जिब्रोमा महालक्ष्मी मन्दिरको माटो राखिदिन्छ । निकालेको सुइरोलाई नकर्मीले गणेश मन्दिरमा ठोकिदिन्छ । अन्तमा जिब्रो छेड्ने व्यक्तिले नाटेश्वरको पूजा गरी जात्रा विसर्जन गरिन्छ । नीलबाराही जात्रा थिमिको टिगनीमा निलबाराही जात्रा हुने गर्दछ । निलबाराहीको जात्रा वैशाख १ र २ गते दुई दिन सञ्चालन गर्छ । वैशाख १ गते राति स्थानीय तःधं टोलमा राखिएको निलबाराहीलाई सरस्वतीखेल पुर्याइन्छ । त्यहाँबाट फर्काएर पुनः तःधं टोलमा पुर्याएपछि जात्रा समापन हुन्छ । वैशाख २ गते बिहान नीलबाराहीलाई नगदेशको सिद्धिगणेश र बोडेबाट टिगनी ल्याउने देवताहरुको बाटो हेरी स्वागत गर्न स्थानीय सानुच्वमा ल्याइन्छ । त्यहाँ सिद्धिगणेश र महालक्ष्मी गण सहभागितामा तिगनीको तःधं टोलस्थित डबलीमा बिसाइ पूजा थाप्ने कार्य हुन्छ । विभिन्न भागको परिक्रमा गरी जात्रा समापन गरिन्छ । कालिका गण जात्रा जिब्रो छेड्नेसँगै बोडेमा कालिका जात्रा हुन्छ । थिमिका अधिकांश जात्रा मूल देवताको नेतृत्वमा हुने गरे पनि बोडेको मूल देवता महालक्ष्मीभन्दा अघि पाचो गणेश राखेर जात्रा हुन्छ । बोडेवासीले कालिकालाई नगरको नकिंका रुपमा लिइने भएकाले जात्रामा कालिका सबैभन्दा पछाडि बस्ने गर्दछ । जात्रामा पाचो गणेश, हासिमला गणेश, भोरिखा गणेश, तःधिं बाराही, चिँ धिं बाराही, महालक्ष्मी, कालीकाको खट जात्रामा सहभागी हुन्छ । यो जात्रा पनि दुई दिन सञ्चालन हुने गर्दछ । चरखण्डी जात्रा दधिकोटस्थित चरखण्डीमा मनाउने चरखण्डी जात्रालाई थिमिकै बिस्का जात्राको रुपमा लिइन्छ । थिमिबाट बसाइँसराइ गरी चरखण्डी पुगेकाहरुले यो जात्रा मनाइन्छ । वैशाख १ गते साँझ चरखण्डी तीर्थस्थलबाट खटलाई पकाण्डोलस्थित डबलीमा बिसाएपछि त्यस दिनको जात्रा समापन हुन्छ । वैशाख २ गते बिहान खटलाई जात्रा गर्दै चरखण्डी तीर्थस्थल लैजान्छ त्यहाँबाट न्यौपाने गाउँ, घैयाटार हुँदै गाम्चा क्षेत्रको परिक्रमापछि पुनः पकाण्डोलको मण्डपमा पुगेर जात्रा सम्पन्न हुन्छ । लोहकिल्थलीको सिद्धिकाली जात्रा लोहकिल्थलीमा वैशाख १ गते साँझ र २ गते बिहान गरी यहाँ पनि दुई दिन सिद्धिकालीको जात्रा गरिन्छ । वैशाख १ गते स्थानीय सिद्धिकाली द्यः छेँ परिसरबाट खटलाई स्थानीय गणेशमन्दिर परिसरमा पुर्याइन्छ । यसलाई ‘द्यः ब्वयकेगु’ अर्थात देवता प्रदर्शन गर्ने भनिन्छ । त्यसपछि खटलाई प्रजापति टोेल, पुनः गणेश मन्दिर हुँदै दक्षिणकाली मन्दिर र दिव्यश्वरी मन्दिर परिसरहुँदै ह्याजुटोल, कुटुटोल र स्वास्थ्य चौकीसम्म पुर्याई सोही बाटो फर्काउँदै सिद्धिकाली मन्दिर परिसरमा खट बिसाएपछि जात्रा सम्पन्न हुन्छ । वैशाख २ गते बिहान सबै टोलवासीहरुको घरघरबाट पूजा गरिसकेपछि जात्रा सुरु गरी खटलाई प्रजापति टोल, गणेश मन्दिर, दक्षिणकाली मन्दिर, लोहकिल्थली चोक, ह्याजु टोल, कुटू टोल, द्धारे टोल, हेका टोल, कवे टोलको विभिन्न देवी देवताको मन्दिर परिसर हुँदै पुनःसिद्धिकाली द्यःछेँ परिसरमा खट बिसाएपछि जात्रा सम्पन्न हुन्छ ।


