शाख अर्थात् हाम्रो चलनमा रहेको कालगणना (पात्रो) अनुसार पहिलो महिना । धार्मिक वा सांस्कृतिक कार्यका लागि वैशाख उपयुक्त महिना मानिन्छ । विवाह संस्कारका लागि पनि यो महिना ज्यादै उपयुक्त मानिएको छ । उत्तरायण देवकर्म गर्ने समय भएकाले संस्कारसहित अन्य माङ्गलिक कार्य गर्न यो महिना उपयुक्त हुन्छ ।
व्यावहारिक दृष्टिले पनि चिसो विस्तारै कम हुँदै र दिन बढ्दै जाने जस्ता कारण यो महिना विवाह उपयुक्त मानिन्छ । फागुन र जेठ पनि विवाहका लागि राम्रा महिना हुन् ।
२०८३ सालमा विवाहका लागि ४१ दिन मुहूर्त निस्किएको छ । अधिक (मल) मास परेका कारण यो वर्ष जेठमा विवाहका मुहूर्त नभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले जानकारी दिए ।
यसरी निकालिन्छ साइत
सनातन धर्मावलम्बीले अहिले विभिन्न संस्कारको साइतका लागि आधार मान्ने गरेका दुई ग्रन्थ हुन् श्रीराम दैवज्ञको मुहूर्तचिन्तामणि र नारायण दैवज्ञको मुहूर्तमार्र्तण्ड । मुहूर्तचिन्तामणिमा विवाहका लागि मिथुन, कुम्भ, मकर, वृश्चिक, वृष र मेष राशिको चान्द्रमास शुभ हुने उल्लेख छ–
मिथुनकुम्भमृगालिवृषजगे मिथुनगेऽपि रवौ त्रिलवे शुचेः।
अलिमृगाजगते करपीडनं भवति कार्तिकपौषमधुष्वपि ।
यसै गरी आषाढशुक्ल (हरिशयनी) एकादशी अघिको दशमीसम्म मुहूर्त निस्किन्छ । वृश्चिकको सूर्यमा कार्तिक मास, मकरको सूर्य पौष मास र मेषको सूर्यमा चैत्र चान्द्रमासमा पनि विवाहको लग्न निस्किन्छ ।
मुहूत्र्तमार्तण्डमा भने …राधमाघयुगयोर्मागे विवाह शुभः भनिएको छ । अर्थात् वैशाख–जेठ, माघ–फागुन र मार्गशीर्ष (मङ्सिर) मा विवाह संस्कार उपयुक्त हुन्छ । अर्थात् यीबाहेकका महिनामा विवाह गर्नु हुँदैन ।
हामीले प्रयोग गर्दै आएको पात्रो (पञ्चाङ्ग) मा यी दुई ग्रन्थलाई आधार मानेर वैशाख, जेठ, असार, मङ्सिर, माघ र फागुनका उपयुक्त दिनमा विवाहका लग्न निकालिएको हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मका चार महिना (चतुर्मास) भगवान् विष्णु शयन गर्छन् । त्यस कारण विवाह मात्र होइन अरू माङ्गलिक कार्यका साइत पनि निस्किँदैन । यस्तै पुस र चैतलाई पनि यी दुवै ग्रन्थले विवाहका लागि अत्यन्तै अनुपयुक्त महिना मानेका छन् ।
रिक्ता तिथि (चतुर्थी, नवमी र चतुर्दशी) र औँसी तिथि विवाहका लागि वर्जित छन् । मूल, रेवती, हस्ता, मघा, स्थिर संज्ञक नक्षत्र (उत्तरफाल्गुनी, उत्तरभाद्र, उत्तरषाढा र रोहिणी), मृगशिरा, स्वाती र अनुराधा गरी ११ नक्षत्र विवाहका लागि उत्तम मानिएका छन्–
मूलान्त्यार्कमघारास्थिरेन्द्वनिलयुङ्मैत्र विवाहे शुभं ।
पापत्यक्तमनिन्दुभुक्खलयुतं भोग्यं च विद्धं न भम् ।।
यस्तै बारको पनि महत्त्व छ । विवाह संस्कारमा बार पनि शुभ पार्नु पर्छ भन्ने मान्यता छ । विशेष गरी सोम, बुध, बिही र शुक्रलाई शुभ वारका रूपमा लिइन्छ । यिनैलाई आधार मानेर समयशुद्धि गरी मुहूर्त (विवाहको समय) निकालिन्छ । ती लग्न प्रत्येक वर्षका पञ्चाङ्गमा उल्लेख गरिएको हुन्छ । सर्वसाधारणले आफूलाई अनुकूल पर्ने दिनमा त्यसको उपयोग गर्छन् ।
साइत ननिस्किने समय
बृहस्पति–शुक्र अस्तमा विवाहको साइत निस्किँदैन । अस्त हुनु र उदय भएको तीन दिनसम्म सुतक लाग्छ भन्ने मान्यता छ । सुतकका बेला पनि साइत निकालिँदैन । यसै गरी सूर्य वा चन्द्र ग्रहण लागेको नक्षत्रलाई छ महिना त्याग्न भनिएको छ । अर्थात् ग्रहण लागेको नक्षत्रमा छ महिनासम्म साइत निकाल्नु हुँदैन । अधिक वा क्षय (मल) मासमा पनि विवाहको मुहूर्त निस्किँदैन ।
उत्तराषाढा, स्वाती, श्रवण तिनै पूर्वा, अनुराधा, धनिष्ठा, कृत्तिका र विवाहका लागि ग्राह्य अरू नक्षत्र तथा शुभ लग्न वस्त्र अलङ्कार पुष्प फलसहित प्रसन्न मुद्रामा कन्या वरण गर्नु भन्ने वचन छ । बाबुआमाका पहिलो छोरा वा छोरीको जन्म महिनामा विवाह नगर्नु भन्ने निर्देश छ । मुहूर्तमार्तण्ड र मुहूर्तचिन्तामणि दुवै ग्रन्थमा तीन ज्येष्ठ पार्न नहुने उल्लेख छ । अर्थात् दुलहा बुवाआमाको जेठो छोरा, दुलही पनि जेठी छोरी र जेठ महिना पारेर विवाह नगर्नू भनिएको हो । मुहूर्तचिन्तामणिमा प्रथम पुत्र र प्रथम पुत्रीको जन्ममास, जन्म नक्षत्र र जन्मतिथिमा विवाह नगर्नू भन्ने निर्देश छ तर द्वितीय गर्भका वरवधूको विवाह जन्ममासमा पनि गर्न मिल्छ ।
यसै गरी एकै वर्षभित्र एकाघरमा सहोदर दुई विवाह नगर्नू भन्ने निर्देश मुहूर्तमार्तण्डमा छ । मुहूर्तचिन्तामणिमा भने छ महिना अन्तरमा मात्र दुई (सन्तान) जनाको विवाह गर्न मिल्ने उल्लेख छ । अर्थात् सदोदर दाजुभाइ संवत्सर (वर्ष दिन) वा अयन (६ महिना) परिवर्तन हुनुपर्ने मान्यता छ ।
के छ वैदिक परम्परामा ?
अहिले हामीले प्रयोग गर्ने पात्रोमा दक्षिणायन, कृष्णपक्ष र राति पनि विवाहका साइत राखिएको पाइन्छ । मूल वैदिक परम्परामा भने विवाह र व्रतबन्ध संस्कार उत्तरायणमा मात्र गर्न मिल्छ । दक्षिणायनमा गर्न हुँदैन । वैदिक तिथिपत्रम् (पात्रो) का सम्पादक प्राडा प्रमोदवर्धन कौण्डिन्न्यायनका अनुसार शुक्ल यजुर्वेदीको गृह्यसूत्र पारस्करमा उत्तरायणका महिना मात्र विवाह–व्रतबन्धका लागि उपयुक्त समय हुन् । उत्तरायणका शुभ तिथि (रिक्ता तिथिबाहेक), नक्षत्र र पूर्वाह्न (दिन) मा विवाह गर्ने बताइन्छ, उदगयन आपूर्यमाणपक्षे पुण्याहे कुमार्याः पाणिं गृह्णीयात् (पारस्करगृह्यसूत्रम्( १/४/५) ।
वैदिक परम्परा अनुसार अहिलेको मीनमास (चैत) मा विवाह निषेध नगरिएको कौण्डिन्न्यायन बताउँछन् । उनका अनुसार बृहस्पति र शुक्र अस्त भएका बेला विवाह–व्रतबन्ध आदि संस्कार गर्न हुँदैन भन्ने प्रावधान पनि वैदिक कालगणनामा छैन ।
कुण्डली मिलानको पाटो
ज्योतिष शास्त्रमा गहिरिने हो भने वरवधूका चिना–टिप्पन हेरेर गुणमिलान गर्ने पाटो पनि छ । वर्णविचार, वश्य, तारा योनि, ग्रहमैत्र, गणमैत्र, राशिसम्बन्ध र नाडीकोे समग्रतालाई ३६ अङ्क दिइएको छ । वर र वधूबिच मिलान गर्दा १८ गुणभन्दा माथि आए मात्र विवाह गर्नु पर्छ नत्र विवाह फलदायी हुँदैन भन्ने ज्योतिषशास्त्रको मान्यता छ । अङ्क बढ्दै जाँदा दाम्पत्य जीवन सुमधुर हुने बताइन्छ । यस्तै नक्षत्रमाथि ग्रहवेध (पञ्चशलाका चक्र) हेर्ने विधि पनि छ । कुण्डलीको सप्तमभावमा विशेष ध्यान दिई माङ्गलिक जस्ता पक्ष पनि विचार गरिन्छ ।
त्यसो त जन्म, मृत्यु, विद्या, कर्म र विवाह मानिस जन्मिँदा नै निश्चित भइसकेको हुन्छ भन्ने पूर्वीय मान्यता पनि छ । मूल वैदिक परम्परामा भने चिनाटिप्पन हेर्ने, गुणमिलान गर्ने पक्ष नभएको कौण्डिन्न्यायन बताउँछन् । वैदिक परम्परामा विवाह गर्दा वर्ण, गोत्र, कुल–परम्परा आदि हेर्ने पक्ष त छँदै छ ।
शास्त्रमा समावर्तन (वेदादि शास्त्रको अध्ययन पूरा भएपछि गरिने संस्कार) पूरा भएपछि विवाहको क्रम आउँछ । धर्मपूर्वक जीवननिर्वाह गर्न र वंशवृद्धिका लागि यो संस्कारको आवश्यकता पर्छ । विवाहका प्रकार–प्रकृतिबारे अध्ययन गर्न भने वेदादि धर्मशास्त्र पल्टाउनु पर्छ । मुहूर्तमार्तण्डमा भने दुलहा (कुमार) को विषम (जस्तै– २५,२७) र दुलही (कन्या) को सम (२२, २४) उमेरमा विवाह गर्नु भन्ने निर्देश छ ।


