काभ्रेपलाञ्चोक, २४ वैशाख : काभे्रपलाञ्चोकको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई ‘विश्व सम्पदा’मा सूचीकृत गराउन वर्षौँदेखि प्रयास भइरहेको छ । विश्व सम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)का प्रतिनिधिदेखि नगरका जनप्रतिनिधिसम्म लागिपरेका छन् । विशेषगरी पनौती नगरपालिका–७ स्थित सम्पदा क्षेत्रलाई लक्षित गरी भएका विभिन्न प्रयासस्वरुप प्रक्रिया अन्तिम चरणमा पुगेको नगरपालिकाले दाबी गर्दै आएको छ । पनौतीलाई विश्व सम्पदामा सूचीकृत गराउन केही वर्षौंदेखि दर्जनौँ पटक सरोकारवालाबीच छलफलसमेत हुँदै आएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पनौती नगर कार्यालयले सहकार्य गर्दै पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रयासमा वर्षौंदेखि भोग्दै आएको विभिन्न प्राविधिक त्रुटिका कारणले ती प्रयास सफल बनाउन निकै कठिनाइ भएको पनौती नगर प्रमुख रामशरण भण्डारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबै सरोकारवालाको समन्वय, सहयोग र प्रतिबद्धता अनुसार प्रक्रिया अघि बढे धेरै समय लाग्दैन, करि करिब अन्तिम चरणमा पुगेको छ ।” उहाँका अनुसार मन्त्रालयले विश्व सम्पदा महासन्धि, कार्यसञ्चालन निर्देशिका, सम्भावित सम्पदाको सूचीमा नाम लेखाउने प्रक्रिया, मनोनयन तथा सूचीकरण प्रक्रिया, खतरामा परेका सम्पदाको सूची र संरक्षित स्मारक क्षेत्रका अवधारणालगायतका महत्वपूर्ण विषयमा जनप्रतिनिधिलाई जानकारी गराउँदै आएको छ । पनौतीलाई विश्व सम्पदामा सूचीकृत गराउन प्रक्रिया थालेदेखि नै स्थानीयवासी खुसी छन् । “ऐतिहासिक पनौती, जसको धार्मिक महत्वसमेत जोडिएको छ, यसलाई विश्व सम्पदामा सूचीकृत गर्नु निकै खुसीको विषय हो”, स्थानीय विकुनारायण ताम्राकारले भन्नुभयो । पनौतीको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वका पक्षलाई आधार बनाएर त्यसलाई युनेस्कोको सूचीमा सूचीकृत गराउने रणनीति विभिन्न चरणमा भएका छलफलले पनौतीको समग्र सम्पदा व्यवस्थापन, संरक्षण, अभिलेखीकरण र प्रवद्र्धनमा सरोकारवाला निकायबीच सहकार्य र दीर्घकालीन योजनाको खाँचो रहेको आवाजसमेत उठ्न थालेका छन् । सरोकारवाला निकाय विशेषगरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोको मापदण्ड पूरा गर्ने कार्यमा लागिरहेको नगरले जनाएको छ ।
यस ऐतिहासिक क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २६ वर्षअघि प्रस्ताव गरिएको थियो । विश्व सम्पदामा सूचीकृत हुने तयारीअन्तर्गत सूचीकृत हुनुपूर्व आवश्यक प्रक्रियासमेत हालको समयमा भइरहेको नगर प्रमुख भण्डारीले बतउनुभयो । उहाँका अनुसार युनेस्कोको मापदण्डका अधिकांश पूरा भइसकेकाले आवश्यक कागजात पुरातत्व विभाग हुँदै युनेस्कोमा पठाइनेछ । “नगरद्वारा व्यवस्थापकीय तयारी भइरहेको छ, केही समयमा उक्त तयारी सकेपछि सूचीकृतका लागि आवश्यक कागजात युनेस्को पठाउने छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यस क्षेत्र समुदायले संरक्षण गर्न सक्ने÷नसक्नेबारे स्थानीयस्तरमा विविध विषयमा छलफलको तयारीसमेत गरिएको छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य २०७९ सालमा अघि बढाइएपछि युनेस्कोको तत्कालीन नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा मनहर्टले विशेष रुचीपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले त्यसका लागि आवश्यक बजेट छुट्याएर प्रक्रिया अघि बढाएको हो । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ भने घोषणा गरिसकेको छ ।
प्रक्रियाअन्तर्गत नेपालस्थित मन्त्रिपरिषद्को निर्णयपछि युनेस्कोको फ्रान्सको पुरातत्वविद्को टिमले पुनः पनौतीको अनुगमन निरीक्षण गरी आवश्यक निर्णय लिने जनाइएको छ । सूचीकृतको यस प्रक्रियामा पनौतीमा करिब ७५ वटा मौलिक नेपाली घरसमेत निर्माणको काम अन्तिम चरणमा पु¥याइएको छ । नगरद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ । पनौती विश्व सम्पदामा सूचीकृत भएपछि पनौती यूनेस्को विश्व सम्पदा क्षेत्र भनिने छ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तै ः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर)धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गरेपछि विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुने नीति छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता जनप्रतिनिधि तथा सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको जनाइयो । पुरातत्व विभागद्वारा पनौती नगरका ऐ्तिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माणसमेत भइसकेको छ । पनौती नगरको वडा नं ५, ६ र ७ नम्बरमा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी र पौवाहरु रहेका छन् । फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो । नेपालस्थित पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । काठमाडौँ उपत्यकाका सात क्षेत्रहरु काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपूर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । नेपाल सरकारले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्को समक्ष प्रस्ताव गरेको छ । पनौती धार्मिक रुपले पनि उत्तिकै महत्वको क्षेत्र मान्दै आइएको छ । राजा प्रताप मल्लले १२७ सालमा रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको संगमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्त रुपमा बहिरहेको मान्यता रहिआएको छ । भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहे झैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिदै आइएको हो । स्कन्दपूराणअन्तर्गत हिमवत् खण्ड (नेपाल महात्म्य)मा वर्णन गरिएअनुसार परापूर्वकालमा श्रृष्किर्ता परब्रम्हाले ‘अहिल्या’ सुन्दरी सिर्जना गरी दश इन्द्रिया बसमा राख्नसक्ने गौतम ऋषिलाई नासोको रुपमा सुम्पिएपछि यो कुरा थाहा पाएका देवराज इन्द्र अहिल्याको रुपबाट कामातुर भई ऋषिको भेषमा अहिल्याको सतित्व हरण गरेका थिए । स्नान गरी फर्कदा इन्द्रबाट अहिल्याको सतित्व हरण भएको थाहा पाएपछि रीसले चूर भएका ऋषिले उनलाई ‘जुन वस्तुमा बढी लालसा राख्यो, त्यही वस्तु शरीरमा उत्पन्न होस् भनी श्राप दिएँ’ भनेपछि इन्द्रमा हजारौँ योनीहरु पाप चिह्नका रुपमा देखिएको कथन छ । सतित्व हरणपछि पत्थर झैँ विवेहरहीत अवस्थामा रहेपछि ऋषिले अहिल्यालाई शिला हुने श्राप दिएको र त्रेता युगमा मर्यादा पुरुष रामचन्द्रको जन्म हुने र उनकै पाउ स्पर्सपछि उनको श्रापमोचन हुने भयो भनिएको छ । पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित अहिल्या (शिला)लाई काठमाडौँको काष्ठमण्डपपछि पुरानो कलाकौशलयुक्त मन्दिरको रुपमा गनिएको छ । शरीरभरि योनी भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म ‘श्री महादेव’को तपस्या गर्दा पापमुक्त भएपछि सोही बेलादेखि १२ वर्षे मकर मेला निरन्तर रुपमा चल्दै आएको जनविश्वास रहेको छ । अर्को किम्बदन्तीअनुसार पाटन र पनौतीमा ठूलो खडेरीपछि अनिकाल हुँदा दुबै ठाउँका तान्त्रिकहरु फुल्चोकी माई कहाँ पूजापाठ गरी पानी माग्थे । दुई क्षेत्रबीच पानी लैजाने होडबाजी चलिरहेपछि फुल्चोकी माताले जसले पहिले चाँदी र सुनको फुल चढाउँछ उसलाई वरदान दिने भन्नुभएको थियो । यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले सोही अनुसार फुल बनाउन दिए । यता पनौतीका तान्त्रिकले आफूसँग जान्ने कालीगढ नभएको जनाउँदै तोरी र मूलाको फुल (सुन र चाँदीजस्तो देखिने)चढाएपछि सुन–चाँदीका निम्ति प्रख्यात पाटनलाई भन्दा मूला, तोरी र साग खेती गर्नेलाई पानीको अभाव छ भन्दै खुसी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाइदिनुभएको थियो । छ वर्षपछि सुन र चाँदीको फुल बनाएर फुल्चोकी मातालाई चढाएर आफूहरुलाई पनि बरदान मिल्नुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी थिइन् । यसपछि छ÷छ वर्षको अन्तरमा गोदावरी मेला र १२÷१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ । जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणी सङ्गममा हरेक वर्षको माघ महिनामा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याई दुई दिनसम्म राखिने पनि गरिन्छ । १२ वर्षे मकर सङ्क्रान्तीमा पनौतीस्थित त्रिवेणीघाटमा एक महिने मकर मेला लाग्ने गर्दछ । मेलामा नेपालमा मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गर्दछन् । यस त्रिवेणीघाटमा नुहाइ त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवथित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था छ ।


