२९ जेष्ठ २०८३, शुक्रबार 1781279638
फिचर

बँदेल र खानेपानी संकटले गाउँ रित्तिँदै

खोटाङको रावा बेँसी गाउँपालिका–४ डुम्रेधारापानीस्थित डाँडागाउँ र कोटगाउँका ७५ प्रतिशतभन्दा बढी परिवार बसाइँ सरेका छन्। खानेपानीको चरम समस्या र जङ्गली जनावरको बढ्दो आतंकका कारण गाउँ रित्तिँदै गएको स्थानीयवासी बताउँछन्।

साविक डुम्रेधारापानी गाविस–७ अन्तर्गत पर्ने डाँडागाउँ र कोटगाउँमा एक समय करिब १०० घरधुरीको बसोबास थियो। हाल भने २३ घरधुरी मात्र बाँकी रहेका छन्। गाउँमा रहेका परिवारसमेत खानेपानी अभाव र बँदेल तथा बाँदरको समस्याले आजित बनेका छन्।

कोटगाउँका मुमबहादुर निरौला हरेक दिन आफ्नो मकैबारी पुगेर नष्ट भएको बाली हेर्दै चिन्तित हुनुहुन्छ। यस वर्ष पनि उहाँको मकैबारीमा बँदेलले क्षति पुर्‍याएको छ। डाँडागाउँका भूपध्वज निरौलाको राम्रोसँग हुर्किएको मकैसमेत बँदेलले भाँचेर नष्ट गरेको छ।

स्थानीय सरोज निरौलाका अनुसार डाँडागाउँका केही परिवारले मिलेर बीच गाउँमा गोठ निर्माण गरेका छन्। त्यही गोठमा बसेर उनीहरू रातभर बँदेल धपाउने काम गर्छन्। “राति ११ देखि बिहान ३ बजेसम्मको समयमा हुल बाँधेर आएका बँदेलले मकै सखाप पार्छन्,” भूपध्वज निरौलाले भन्नुभयो।

स्थानीयका अनुसार करिब आठ वर्षअघि बँदेलका साना बच्चा गाउँ वरपर देखिन थालेका थिए। अहिले ती ठुला भइसकेपछि २८–३० वटासम्मको समूह बनाएर गाउँ पस्ने गरेका छन्। बँदेलले मकै, कोदो, जुनेलो, दाललगायतका बाली खाएर, भाँचेर र उखेलेर नष्ट गर्ने गरेको छ।

बाली जोगाउन कठिन भएपछि कतिपयले खेती गर्नै छाडेका छन् भने कतिपय परिवार गाउँ नै छाडेर बसाइँ सरेका छन्। एक सय घरधुरी रहेको गाउँ अहिले २३ घरधुरीमा सीमित भएको छ। यसै वर्ष मात्र कोटगाउँबाट दुई परिवार बसाइँ सरेका छन्। करिब १५ घरधुरी रहेको कोटगाउँमा अहिले तीन घर मात्र बाँकी रहेका छन्।

स्थानीय पुस्मलाल निरौलाका अनुसार माथिल्लो भेगमा बँदेल र तल्लो भेगमा बाँदरले खेतीपाती नष्ट गर्न थालेपछि थप परिवार गाउँ छाड्ने सोचमा छन्। बाँदरले खेतबारीका बाली मात्र नभई घरभित्र राखिएको अन्नसमेत खाने गरेको उहाँले बताउनुभयो।

खानेपानी र जङ्गली जनावरको समस्याबाट आजित भएर गाउँ छाड्नेहरूको घर अहिले भग्नावशेषमा परिणत भएका छन्। खेतीयोग्य जमिन क्रमशः झाडी र वनमा परिणत हुँदै गएको छ।

खानेपानी समस्या समाधानका लागि छिमेकी ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरे नेपानेबाट पानी ल्याइएको भए पनि पर्याप्त छैन। धेरै बस्तीमा एउटै स्रोतको पानी वितरण गर्नुपर्ने भएकाले दैनिक केही घण्टा मात्र धारा चल्ने गरेको सरोज निरौलाले बताउनुभयो। हिउँदमा भने पानीको चरम अभाव हुने गरेको छ।

धारामा पानी नआएको बेला गाउँको एउटा कुवाबाट पालैपालो लाइन बसेर पानी भर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ। खानेपानी समस्या समाधानका लागि दूधकोशी नदीबाट लिफ्टिङ खानेपानी आयोजना निर्माणाधीन रहे पनि ढिलासुस्तीका कारण हालसम्म सम्पन्न हुन सकेको छैन।

यता, डिभिजन वन कार्यालय खोटाङका प्रमुख उदिमप्रसाद राईले जिल्लामा बँदेलको अवस्थाबारे आधिकारिक अध्ययन नभएको बताउनुभयो। उहाँका अनुसार जङ्गली जनावरबाट भएको क्षतिको क्षतिपूर्ति पाउने व्यवस्था भए पनि हालसम्म कार्यालयमा कुनै औपचारिक निवेदन परेको छैन।