काठमाडौँ – उपाधि दाबेदार मानिएको पोर्चुगल फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमै कंगोसँग १–१ गोलको बराबरीमा रोकिएको छ । खेलमा सुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा पोर्चुगल अंक बाँड्न बाध्य भएको हो ।

खेलको छैटौँ मिनेटमै जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई उत्कृष्ट सुरुवात दिलाएका थिए । बलमाथि बलियो पकड बनाएको पोर्चुगलले सुरुवाती समयमा कंगोलाई पूर्ण दबाबमा राखे पनि त्यसपछि भने लय गुमाउन पुग्यो । पोर्चुगलका अग्रपंक्तिका खेलाडीले कंगोका गोलरक्षक म्पासीलाई थप चुनौती दिन सकेनन् । नाइजेरियाविरुद्धको अन्तिम मैत्रीपूर्ण खेलमा पनि धेरै अवसर गुमाएका रोनाल्डोलाई प्रशिक्षक रोबर्टो मार्टिनेजले सुरुवाती(११ मै मैदान उतारेका थिए । तर, रोनाल्डो लगातार गोल गर्न असफल भइरहेका कारण प्रशिक्षक मार्टिनेजमाथि अब टोली छनोटलाई लिएर दबाब बढ्ने देखिएको छ ।
यता, आन्तरिक समस्या र विवादका बीच विश्वकपको मञ्चमा फर्किएको डीआर कंगोले भने उत्कृष्ट पुनरागमन गरेको छ । सुरुवाती दबाबलाई झेल्दै खेलमा फर्किएको कंगोले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो । यो नतिजासँगै कंगोका खेलाडी र समर्थकले मैदानमै भव्य खुसीयाली मनाएका छन् भने पोर्चुगलका लागि आगामी खेल चुनौतीपूर्ण बनेका छन् ।


