हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाएर ८ कायम गरिएको बताएका छन् ।
हेटौंडा–६ मा रहेको बिपी गणेशमान स्मृति शान्ति पार्क (पिसपार्क)को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
बानियाँले आफू मुख्यमन्त्री भएदेखि आर्थिक मितव्ययिता र सुशासनको पक्षमा काम गरिरहेको बताउँदै यसकै परिणाम स्वरूप अहिले प्रदेशमा मन्त्रालयको संख्या घटाएको बताए ।
विगतमा १७ जनासम्म मन्त्री रहेको बागमती प्रदेशमा मन्त्रालय घटाएर ८ मा झारेको उनले बताए । उनले प्रदेशमा ‘संगठन तथा व्यवस्थापन संरचना’ छिट्टै टुंगो लगाएर मन्त्रालय अनुसार नै मन्त्रीको संख्या कायम हुने बताए ।
हाल केही मन्त्रीहरूलाई विषयगत क्षेत्रको जिम्मेवारी दिएको भए पनि छिट्टै कार्यविभाजन टुंगिने उनको भनाई छ ।
मुख्यमन्त्री बानियाँले पछिल्लो समय सामाजिक सञ्जालमा नकारात्मकता र गालीगलौजको संस्कृति बढेको र मोबाइल हेरेर ठिक/बेठिक नछुट्याई नकारात्मक टिप्पणी गर्ने प्रवृतिले देश विकासमा बाधा पुर्याउने बताए ।
उनले प्रदेश सरकार रहेकै कारण स्थानीय तहसम्म विकास पुगेको बताउँदै यसबारे सकारात्मक सन्देश प्रवाह गर्न प्रदेशबासीसँग आग्रह गरे । उनले प्रदेश सरकारले विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, गरिब परिवारलाई एक हजार घर बनाउने जस्ता काम गरिरहेको बताए ।

