१३ भदौ २०८३, शनिबार 1788026152
Banner

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धार तीव्र : ८२ जनाको टोली परिचालन

काठमाडौं । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरुको उद्धारका लागि सरकारले उद्धार प्रयास तीव्र पारेको छ ।  दुई दिनदेखि जारी उद्धार अभियानअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्न लेदो तथा भग्नावशेष पन्छाउने काम सुरु भएको छ ।

सुरुङभित्र मानिसहरू फसेको जानकारी आएपछि सरकारले प्राथमिकताका साथ सुरक्षा निकायको संयुक्त उद्धार टोली परिचालन गरेको छ ।  सुरुङको मुख खोल्दै भित्र फसेकाहरूको खोजी तथा उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी ८२ जना सुरक्षाकर्मी निरन्तर खटिएका छन् । उद्धारका लागि नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी ८२ जनाको टोली हिजो रातिदेखि नै घटनास्थलमा परिचालित छ ।  सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो र भग्नावशेष हटाउँदै टोलीले खोजी कार्य अघि बढाइरहेको छ ।

प्रतिकूल मौसम कायम रहेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको  नेपाली सेनाले जानकारी दिएको छ । लगातारको वर्षा र जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण सुरुङसम्म पुगेर खोजी तथा उद्धार गर्न कठिनाइ भइरहेको सेनाको भनाई छ ।

उद्धारमा सहयोग गर्न भारतबाट आएको टोली त्रिशूली पुगेको छ ।  भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन (रेकी) गरेको छ । अनुगमनबाट प्राप्त अवस्थाको मूल्याङ्कनपछि आवश्यकता र सम्भावनाका आधारमा थप उद्धार कार्य अघि बढाउने तयारी गरिएको छ ।

सरकारले नेपाली सुरक्षा निकाय र विदेशी उद्धार टोलीको समन्वयमा सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिएको छ ।