१० आश्विन २०८३, शनिबार 1790448084
समाचार

रास्वपाका दुई इन्जिनियर सांसद उद्धारस्थलबाट काठमाडौं फर्किए

काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद सागर ढकाल र श्रीराम न्यौपाने काठमाडौं फर्किएका छन्।

सांसदको उपस्थितिले उद्धार कार्यमा अवरोध भएको गुनासो आएपछि पार्टीले उद्धारस्थलमा नबस्न निर्देशन दिएसँगै उनीहरू फर्किएका हुन्। दुवै इन्जिनियर सांसद आफ्नो प्राविधिक विज्ञताका आधारमा उद्धार कार्यमा सहयोग गर्न फिल्डमा पुगेका थिए।

सिभिल, जलस्रोत तथा सुरुङ इन्जिनियर न्यौपानेले लामो समय सुरुङ क्षेत्रमा काम गरेका छन् भने ढकाल मेकानिकल तथा वाटर साइन्स इन्जिनियर हुन्। न्यौपानेका अनुसार आफू दैनिक १८ घण्टासम्म उद्धार तथा खोजी कार्यमा खटिएका थिए। अब सुरुङभित्रको काम नेपाली सेना र सशस्त्र प्रहरीले सम्हाल्ने भएकाले फर्किएको उनले बताएका छन्।

काठमाडौं फर्किँदै गर्दा ढकालले भने पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाएका छन्। फिल्डमा सबै पक्षबाट सहयोग भए पनि सञ्चारमाध्यममा नकारात्मक प्रचार हुँदा काममा केही असर परेको र पार्टीका वरिष्ठ नेतासमेत त्यसैको प्रभावमा परेको उनको गुनासो छ।

उनले उद्धार प्रयासलाई मानवीय रूपमा आंशिक सफलता भए पनि इन्जिनियरिङ दृष्टिले ठूलो उपलब्धि भएको दाबी गर्दै ‘सकिँदैन’ भन्नेभन्दा फिल्डमा खटिएर काम गरेर देखाउनुपर्ने धारणा राखेका छन्।