१९ भदौ २०८३, शुक्रबार 1788554603
Banner

भोटेकोशी बाढी प्रभावित बालबालिकालाई चाँडै सुरक्षित बसोबासको व्यवस्था गर्छौं: प्रधानमन्त्री शाह

काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा-भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि चाँडै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्ने बताएका छन्।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित बालबालिका अहिले होल्डिङ सेन्टरमा बसिरहेको उल्लेख गर्दै उनीहरूको सुरक्षित भविष्यका लागि सरकारले काम गरिरहेको बताएका हुन्।

‘हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ। हामीलाई थाहा छ– यहाँहरूका लागि यो बसाइ सहज छैन,’ उनले भनेका छन्, ‘तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ। पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ।’

जन्माष्टमीका दिन अधिकांश बालबालिका राधा–कृष्णको भेषमा रमाइरहँदा भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिका भने गहिरो पीडामा रहेको उनले उल्लेख गरेका छन्। बाढीका कारण कतिपय बालबालिकाले आफ्ना बाबुआमा तथा आफन्त खोजिरहेको हुन सक्ने भन्दै उनले उनीहरूको अवस्थाप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले बाढीपछि गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धासँगै बालबालिकालाई उद्धारमा पहिलो प्राथमिकता दिइएको बताए।

उनले बालबालिकालाई भविष्यमा आउन सक्ने विपद्का लागि अहिलेबाटै तयारी गर्न आग्रह गर्दै घरमा ‘विपद् झोला’ तयार राख्न, सानैदेखि बचत गर्ने बानी बसाल्न तथा जलवायु परिवर्तनबारे अध्ययन र छलफल गर्न सुझाव दिएका छन्।

प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढिरहेको भन्दै नेपालले भोगिरहेको विपद् र जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराउनुपर्ने बताए।

उनका अनुसार विपद्का बेला हालसम्म १३ हजार ९५ जनाको उद्धार भइसकेको छ। उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायतका टोलीलाई धन्यवाद दिँदै उनले विदेशमा रहेका नेपाली, मित्रराष्ट्र तथा विकास साझेदार संस्थाले गरेको सहयोगप्रति पनि आभार व्यक्त गरेका छन्।

‘विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ,’ उनले भनेका छन्।

श्रीकृष्णको शिक्षालाई स्मरण गर्दै प्रधानमन्त्री शाहले विपद्का बेला निराश नभई धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्ने बताएका छन्। उनले सबै मिलेर विपद्को सामना गर्दै सुरक्षित र उज्यालो नेपालको निर्माणमा जुट्न आह्वान गरेका छन्।