२० भदौ २०८३, शनिबार 1788638689
फिचर

मानवीय गतिविधि र जलवायु परिवर्तनले हिमाली गिद्ध संरक्षणमा चुनौती

भदौ २० गते । जलवायु परिवर्तनसँगै विकास निर्माण, बस्ती विस्तार, पशु उपचारमा प्रयोग हुने औषधी तथा बढ्दो मानवीय गतिविधिका कारण गिद्धको बासस्थान र प्रजनन क्षेत्रमासमेत असर पर्न थालेको छ ।

प्रकृतिका कुचिकारका रूपमा चिनिने हिमाली गिद्धको आहारा र बासस्थानमा आएको परिवर्तनसँगै संरक्षण चुनौती देखिएको हो । पछिल्लो समय गिद्धको बासस्थान तथा चरन क्षेत्रहरूमा प्राकृतिक प्रकोप, डढेलो, चरन क्षेत्रमा मरेका जनावरका मासु (सिनो) को अभाव र तापक्रमका कारण अनुकूल ठाउँको खोजीमा निस्किने गरेको छ । 

मुस्ताङमा अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)द्धारा गिद्धको आहारादेखि बासस्थानको संरक्षणका लागि विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने गरेको छ ।

समुद्री सतहको एक हजार दुई सय देखि ६ हजार मिटरसम्मको उचाइमा बासस्थान रहेकोमा आहारादेखि गुँडको संरक्षण आवश्यकता रहेको एक्याप लोमन्थाङका प्रमुख उमेश पौडेलले बताउनुभयो । 

पौडेलले भन्नुभयो, ‘‘गिद्धले आफैँ सिकार नगरी मरेका सिनो खान्छ, संरक्षणसँगै पर्यटकलाई अवलोकन गर्न मिल्ने गरी भ्यू प्वाइन्ट समेत बनाइएको छ।’’ 

पौडेलका अनुसार बारगुङ मुक्तिक्षेत्र गाउँपालिकाको समर, लोघेकर दामोदरकुण्ड गापाको यासाघारा, चराङ, ढाकमर, याराघार, ध्ये र लोमन्थाङ गाउँपालिकाको छोसेर, समजुङ, कोरला लगायतका स्थानबाट गिद्धको अवलोकन गर्न सकिन्छ ।

उपल्लो मुस्ताङमा वातावरण शुद्धताको प्रतीक तथा धार्मिक परम्परामा समेत प्रयोग गरिने गिद्धलाई आहाराको अभाव हुन नदिने गरी स्थानीय समुदायले समेत सघाउने गरेका छन् ।

एक्याप लोमन्थाङले प्रारम्भिक गणनामा दुई सय हाराहारीमा रहेको अनुमान गरिएको छ । एउटै गिद्ध फरक–फरक स्थानमा पुग्ने भएकाले पनि आधिकारिक तथ्याङ्क नभएपनि फोहोर हुने स्थानमा एकल तथा बथानमा देखिन्छ । 

बिहान र दिउँसो आहाराको खोजीमा निस्किने हिमाली गिद्धले प्रत्यक्ष सिकार नगरी मरेको जनावरलाई मात्रै आहारा बनाउने भएकाले मासु प्रजातिका जनावरले सिकार गरेको स्थानको पहिचान गर्न सक्ने क्षमता समेत हुन्छ ।

मोटो चुच्चो, खुकुलो प्वाँख भएको रफ, लामो पखेटा र छोटो पुच्छर हुने हिमालय गिद्धले एकपटकमा एउटा अण्डा निकाल्छ ।

पर्यावरणीय चक्र सन्तुलन र गतिशील बनाउन सघाउने गिद्धले चरन क्षेत्रमा अन्य बन्यजन्तुले मारेका पशुचौापाया सिनो खाएर वातावरण प्रदूषित, दूर्गन्धित र रोगमुक्त बनाउनेसँगै उपल्लो मुस्ताङबासीको मृत्यु संस्कारसँग पनि जोडिएकाले धार्मिक महत्व भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टस्सी नुर्व गुरूङले बताउनुभयो । 

गुरूङले भन्नुभयो, ‘‘गिद्ध संरक्षणका लागि विभिन्न संघसंस्थासँग सहकार्य गर्ने गरिएको छ, गिद्धलाई जोखिम हुने कार्य न्यूनिकरण गदैं समुदायस्तरमा जनचेतनामुलक कार्यक्रम फैलाउनु आवश्यक छ ।’’

उपल्लो मुस्ताङमा घरपालुवा जनावर जस्तै कुकुर अन्य पशुचौपाया मरेमा गिद्धको बथान देखिने स्थान आसपासमा लगेर फाल्ने गरिएको अध्यक्ष गुरूङको भनाई छ । हिमाली क्षेत्रमा बासस्थान बनाउने गिद्ध तराईसम्म पुग्ने गरेको छ भने समुहबाट अलग हुने, विद्युतको पोल, तार तथा अग्ला पहाडमा ठोकिएर दुर्घटनासमेत पर्ने गरेको छ ।

उपल्लो मुस्ताङको ‘ल्होवा’ समुदायमा कसैको मृत्यु भयो भने लामागुरुले जन्मकुण्डली हेरेर अन्तिम संस्कारका चार विकल्पमध्ये गिद्धलाई खुवाएर अन्त्येष्टि गर्ने अनौठो परम्परा अहिले पनि छ ।

यसैबिच शनिबार १८ औं अन्तराष्ट्रि«य सचेतना दिवस मनाइएको छ । पहिलोपटक अफ्रिकामा सन् २००५ देखि गिद्ध संरक्षण दिवस मनाउन सुरुवात भएकोमा सन् २००९ देखि विश्वव्यापी रूपमा ‘अन्तरराष्ट्रिय गिद्ध सचेतना दिवस’ का रूपमा मनाउन थालिएको थियो ।