२३ भदौ २०८३, मंगलबार 1788872851
समाचार

अमेरिकी दूतको भ्रमण सकिएसँगै युक्रेनमा फेरि सुरु भयो रुसी हमला

किभ । रुस र युक्रेनका राजधानीमा तीन दिनदेखि रोकिएको हवाई हमला फेरि सुरु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतहरू स्टिभ विट्कफ र ट्रम्पका ज्वाइँ जारेड कुशनरले मस्को र किभको भ्रमण गरेर शान्ति वार्ताको प्रयास गरे पनि ठोस प्रगति नभएपछि हमला पुनः सुरु भएको हो ।

मंगलबार बिहान रुसले युक्रेनको राजधानी किभमा ड्रोनसहित हवाई हमला गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको बताइएको छ ।

किभका अधिकारीहरूका अनुसार रुसी हवाई हमलाबाट राजधानीका दुई आवासीय भवनमा क्षति पुगेको छ । युक्रेनको सरकारी आपत्कालीन सेवाका अनुसार किएभसँगै राजधानीबाहिरका बोरिस्पिल र फास्टिभ क्षेत्रमा पनि ड्रोनले भवनहरूमा प्रहार गरेका थिए । हमलाको जोखिम बढेपछि किभ सहरको सैन्य प्रशासनले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै हवाई आक्रमणको चेतावनी जारी गरेको थियो ।

युक्रेनमा हमला भएको खबरसँगै रुसतर्फ पनि ड्रोन आक्रमण भएको बताइएको छ । रुसी क्षेत्रीय गभर्नर रोमन बुसार्गिनका अनुसार युक्रेनी ड्रोनले साराटोभमा नागरिक पूर्वाधारमा प्रहार गर्दा केही मानिस घाइते भएका छन् । यद्यपि घाइतेको यकिन संख्या पुष्टि भएको छैन ।

अमेरिकी दूतहरू मस्को र किभ पुगेका बेला रुस र युक्रेनले एकअर्काको राजधानीमा तीन दिनसम्म हमला नगर्ने सहमति गरेका थिए । तर अन्य क्षेत्रमा भने युद्ध र आक्रमण जारी नै रहेको थियो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी दूतहरूको भ्रमणका क्रममा तीनदिने राजधानी–केन्द्रित युद्धविरामको घोषणा गरेका थिए । विट्कफ र कुशनरले युद्ध अन्त्य गर्ने विषयमा मस्को र किभका अधिकारीहरूसँग छलफल गरेका थिए ।

रुसी राष्ट्रपति कार्यालयका सहयोगी युरी उशाकोभले शनिबार पुटिनसँग भएको तीन घण्टाभन्दा लामो भेटवार्तालाई अत्यन्त उपयोगी भनेका थिए । तर वार्ताबाट तत्काल कुनै ठोस शान्ति सहमति ननिस्किएपछि राजधानीहरूमा रोकिएको आक्रमण पुनः सुरु भएको हो ।

रुसी सरकारी समाचार संस्था तासका अनुसार पुटिनले तीनदिन सम्म किभमा हमला नगर्न आदेश दिएका थिए । उनको समयसीमा स्थानीय समयअनुसार सोमबारसाँझ समाप्त भएको थियो ।