काठमाडौँ : नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनको औपचारिक तयारी सुरु गरेको छ। पार्टीले आगामी असोज १६, १७, १८ र १९ गते काठमाडौँमा १५औँ महाधिवेशन आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।
अहिले कांग्रेसले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा महाधिवेशनमा महाधिवेशनको उद्घाटन गर्नेगरी आवश्यक व्यवस्थापन थालेको हो ।
सोहीअनुसार कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार राष्ट्रिय सभागृहका प्रमुखलाई पत्र लेख्दै असोज १५ देखि असोज २० गतेसम्म ६ दिनका लागि हल उपलब्ध गराइदिन अनुरोध गरेका छन् ।
पार्टीले महाधिवेशनको तयारी, व्यवस्थापन र कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी हल, लबी, पार्किङ स्थल र बगैँचा उपलब्ध गराइदिन आग्रह गरेको हो।
पत्रमा लेखिएको छ, ‘महाधिवेशन जस्तो महत्त्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रमको सफल तथा व्यवस्थित आयोजनाका लागि यहाँको कार्यालयबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वास पार्टीले लिएको छ।’

