२३ भदौ २०८३, मंगलबार 1788892120
Banner

प्रधानमन्त्री बालेन अमेरिकी राष्ट्रपति ट्रम्पको रात्रिभोजमा सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आगामी सेप्टेम्बर २२ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् ।

करिब चार दिनको छोटो भ्रमणमा न्युयोर्क पुग्ने प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ ।

तर, प्रधानमन्त्री बालेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महासभामा सहभागी विश्वका राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा भने सहभागी नहुने भएका छन् ।

ट्रम्पले सेप्टेम्बर २२ मै उच्चस्तरीय पाहुनाका लागि रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाह भने सेप्टेम्बर २३ मा मात्र न्युयोर्क पुग्नेछन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको दोहा हुँदै न्युयोर्क जानेछन् । असोज ६ गते प्रस्थान गर्ने उनी असोज ७ गते न्युयोर्क पुग्ने र सेप्टेम्बर २४ अर्थात् असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री शाहको न्युयोर्क बसाइ छोटो भएकाले भेटघाटका कार्यक्रम पनि सीमित राखिएको छ । हालसम्म संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।