रौतहट । सुन्दा जो कोहीलाई पनि आश्चर्य लाग्ने यो घटना छिमेकी मुलुक भारतको बिहारस्थित पूर्णिया जिल्लाको हो । अन्तरजातीय विवाह गरेको भन्दै पूर्णियाका एक बाबुले आफ्नै जीवित छोरीको पुतला बनाएर दाहसंस्कार गरेका छन् ।
पूर्णियाको चपय गाउँका किसान मनोज गोस्वामीले छोरी रियाको पुतला बनाएर गाउँलेको उपस्थितिमा शवयात्रा निकालेका हुन् । त्यसपछि हिन्दू परम्पराअनुसार श्मशानमा पुतलालाई मुखाग्नि दिइएको बताइएको छ ।
बीए पहिलो वर्षमा अध्ययनरत रिया गत सेप्टेम्बर ८ मा आफूभन्दा फरक जातका एक युवकसँग घरबाट हिँडेकी थिइन् । छोरी सम्पर्कविहीन भएपछि उनका बाबुले अपहरणको उजुरी दिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा उनलाई दिल्लीबाट फेला पारेको बताइएको छ । त्यसपछि अदालतमा बयान दिने क्रममा रियाले परिवारको पक्षमा नभई आफूले रोजेको युवकको पक्षमा बयान दिएको बताइएको छ ।
छोरीले आफ्नो इच्छाअनुसार विवाह गरेको विषयलाई बाबुले स्वीकार गर्न नसकेपछि उनले छोरीसँगको सम्बन्ध नै अन्त्य गरेको बताएका छन् । त्यसपछि परिवारले छोरीको मृत्यु भएको प्रतीकात्मक घोषणा गर्दै उनको पुतला बनाएर बुधबार अन्तिम संस्कार गरेको हो । परिवारले अब छोरीको श्राद्ध समेत गर्ने तयारी गरेको बताइएको छ ।
प्रेम, अधिकार र सामाजिक प्रतिष्ठाबीचको द्वन्द्व
घटनाले अन्तरजातीय विवाह, पारिवारिक अपेक्षा र सामाजिक प्रतिष्ठाबीचको गहिरो द्वन्द्वलाई सतहमा ल्याएको छ । एकातिर वयस्क व्यक्तिले आफ्नो जीवनसाथी रोज्ने व्यक्तिगत अधिकारको प्रश्न छ भने अर्कोतर्फ अभिभावकले सन्तानको भविष्य र सामाजिक सम्बन्धलाई लिएर राखेका अपेक्षा छन् ।
छोरीले आफ्नो जीवनसाथी रोजेकै कारण जीवित व्यक्तिलाई मृत घोषणा गरी पुतलाको अन्तिम संस्कार गर्नु परिवारभित्रको भावनात्मक दूरी मात्र नभई सामाजिक दबाब कति गहिरो हुनसक्छ भन्ने उदाहरणका रूपमा समेत देखिएको छ ।

