६ कार्तिक २०८३, शुक्रबार 6:52 am
Banner

तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

काठमाडौंः चीनको तिब्बत स्वायत्त क्षेत्रमा बिहीबार साँझ गएको ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा कम्तीमा १६ जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् । त्यहाको स्थानिय सञ्चारमाध्यमका अनुसार नाग्छु सहरको बाकेन काउन्टीमा बिहीबार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको हो।

भूकम्पमा परी घाइते भएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ भने २१ जनालाई सामान्य चोटपटक लागेको बताइएको छ। शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार भूकम्पले ३३९ भन्दा बढी घर भत्किएका छन्।

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्। भूकम्पबाट विस्थापित भएका नागरिकलाई आश्रय दिन प्रहरी र अग्नि नियन्त्रण विभागका उद्धार टोलीले अस्थायी पालहरू निर्माण गरिरहेका छन्।

चीनको सरकारी प्रसारण संस्था सीसीटीभीका अनुसार पछिल्लो भूकम्प यस क्षेत्रमा पाँच वर्षयताकै सबैभन्दा शक्तिशाली हो। भूकम्पबाट भएको समग्र क्षतिको आकलन भइरहेको र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।