२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 7:20 pm
फिचर

छठ नजिकिएसँगै बाँसका सामग्रीको व्यापार बढ्यो

सूचना प्रेस २०८३ कार्तिक २६ बिहिबार ००:००, १९:०९ बजे २ मिनेट पढाइ

कात्तिक २६ गते । छठ पर्व नजिकिएसँगै सुनसरीका बजारमा छठ पूजाका सामग्रीको किनबेच बढेको छ । छठ पूजामा प्रयोग हुने बाँसबाट बनेका कुनिया, ढक्की र नरिवल, उखु, भोगटे, हरियो तरकारीलगायत सामग्री खरिद गर्नेको चहलपहल बजारमा बढ्न थालेको हो ।

सुनसरीको झुम्कामा २० वर्षदेखि छठ पूजाका सामग्री बिक्री गर्दै आउनुभएका व्यापारी ब्रजकिशोर गोश्वामीका अनुसार पछिल्लो समय बाँसबाट बनेका कुनिया र ढक्कीको माग बढेको छ । उहाँले कुनियाको मूल्य सानो ठुलो आकार अनुसार एक सयदेखि तीन सय रुपैयाँसम्म पर्ने बताउनुभयो ।

त्यस्तै, बाँसबाट बनाइएका ढक्कीको मूल्य अढाइ सयदेखि सात सय रुपैयाँसम्म पर्ने उहाँले बताउनुभयो । छठ पर्वमा सूर्यदेवलाई अर्घ दिन र पूजाका सामग्री राख्न बाँसबाट बनेका परम्परागत सामग्री प्रयोग गर्ने चलन रहेकाले यस्ता सामग्रीको माग बढ्ने गरेको उहाँको भनाइ छ । छठ पर्वका लागि आवश्यक सामग्रीको किनबेच झुम्कासँगै इटहरी, इनरुवा तथा सुनसरीका अन्य बजारमा पनि बढेको छ । इटहरीका स्थानीय टुकबहादुर विष्टका अनुसार छठ नजिकिएसँगै पूजाका सामग्री खरिद गर्ने ग्राहकको चहलपहल बढेको छ ।

सुनसरीका ग्रामीण क्षेत्रमा समेत पछिल्लो समय छठ पर्व मनाउनेको संख्या बढ्दै गएको बताइएको छ । यससँगै छठ पूजामा प्रयोग हुने बाँसका सामग्रीदेखि फलफूल र अन्य पूजाका सामग्रीको व्यापारसमेत विस्तार हुँदै गएको व्यापारीहरूले बताएका बताउँछन् । छठ पर्वमा बाँसका कुनिया र ढक्कीमा पूजा सामग्री सजाएर अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ । त्यसैले पर्वको तयारीसँगै बजारमा परम्परागत सामग्रीको माग बढ्ने गरेको छ । साभार गोप