२३ आश्विन २०८३, शुक्रबार 12:28 pm
Banner

प्रदेश १, बाग्मती र गण्डकीमा भारी वर्षा, अरु प्रदेशमा के छ मौसम पूर्वानुमान ?

काठमाडौ- गएराती देखि नै देशभर आंशिकदेखि सामान्य बदली भएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

शनिबार देशका पहाडी भू-भागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानमान महाशाखाले जनाएको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
सुनकोसी, दुधकोसी र तमोर नदीको जलाधार क्षेत्रमा गएरातिदेखि ठूलो पानी परिरहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको नेपाल बाढी सूचना केन्द्रले आग्रह गरेको छ।

सप्तकोसीका सहायक नदीमा ठूलो बाढी आइरहेकाले सप्तकोसीको चतरा आसपासमा विशेष सतर्कता जरूरी रहेको केन्द्रले जनाएको छ ।यस्तै सिन्धुपाल्चोको गुमथाङ, धाप र नकोटे आसपास पनि भारी वर्षा भएको छ ।

मेलम्ची र वलेफी नदीमा बाढी आएकाले बिहान १० बजेसम्मै सतर्कता अपनाउन केन्द्रको आग्रह छ।

धनकुटाको मछुवाघाट र त्रिवेणी सोलुखुम्बुको सोलुखोला र साल्मे क्षेत्रमा पनि राती भारी वर्षा भइरहेको छ।

यस्तै, दोलखाको तामाकोसी नदी पनि सतर्कताको तह आसपास पुगेकाले सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।