६ मंसिर २०८१, बिहिबार 1732217333
फिचर

अन्त्येष्टिमा पनि देखासिकी

सहदेव बस्नेत

जाजरकोट । नलगाड नगरपालिका–८ का दीपक सिंहले बुबाको अन्त्येष्टिमा ५० थान कपडाबाट छ सय मिटर ‘बाट’ को प्रयोग गर्नुभयो । बाबुको अन्त्येष्टिका लागि कपडा किन्न मात्रै एक लाख रुपियाँ खर्च भएको उहाँले बताउनुभयो ।
सोही ठाउँका पदमबहादुर खत्रीले पनि आमाको मृत्यु हँदा ४० थान कपडा अथवा लामो ‘बाट’ हालेर दाहसंस्कार गर्नुभयो ।

सिंह र खत्री मात्र होइन, अधिकांश जाजरकोटीले वर्षौंदेखि आफन्तको अन्त्येष्टिमा लामो कपडा हाल्दै आएका छन् । शवलाई घरबाट उठाएर अन्तिम संस्कारका लागि नदी तथा खोला किनारमा लैजाँदा सेतो, नीलो, रातो र पहेँलो रङको कपडा कम्तीमा तीन थानदेखि अधिकतम एक सय थानसम्म प्रयोग गरिँदै आएको छ । यसरी अन्त्येष्टिका लागि घरदेखि घाटसम्म पु(याउँदा कपडामा नै लाखभन्दा बढी रुपियाँ खर्च हुने बताइएको छ ।

अन्त्येष्टिमा कपडाको प्रयोगकै आधारमा गाउँघरमा धनी र गरिब भनेर समाजले छुट्याउने गरेको ८५ वर्षीय कर्णबहादुर रावलले बताउनुभयो । इज्जत र प्रतिष्ठासँग जोडेर अरूलाई देखाउन साहुसँग ऋण काढेर भए पनि लामो ‘बाट’ हाल्ने होडबाजी चल्दै आएको उहाँले जनाउनुभयो ।

अन्तिम संस्कारका लागि शवलाई घरबाट घाट लैजाँदा अगाडि टाँग्दै लगिने कपडाबाट दिवङ्गतका आत्मा स्वर्गमा पुग्छ भन्ने विश्वास छ । त्यसैले गाउँमा कतिपय बूढापाका अहिले पनि आफ्ना लागि आफँैले धेरै थान कपडा किनेर राख्ने गर्छन् । जति लामो ‘बाट’ हालिन्छ उति छिटो स्वर्गमा पुगिन्छ भन्ने अन्धविश्वासले गर्दा बूढापाकाले आफ्नो लागि आफैँले कपडा किनेर राख्ने चलन रहेको स्थानीयवासीको भनाइ छ ।

कर्णाली र गण्डकी प्रदेशका विभिन्न स्थानमा प्रचलन रहेको ‘बाट’ परम्परालाई गण्डकी प्रदेशतिर भने यसलाई ‘बाटो’ पनि भनिन्छ । मृत्यु जस्तो अत्यन्त संवेदनशील कुरामा जोडिएको यो संस्कार अहिले देखासिकी र अस्वस्थ प्रतिस्पर्धा पनि बन्न थालेको छ । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र शाह संस्कार जोगाउनभन्दा पनि देखासिकीकै लागि थानका थान कपडाको प्रयोग गर्ने चलनले गर्दा विपन्नलाई समस्या हुने गरेको बताउनुहुन्छ । यस्तो चलनलाई निरुत्साहित गर्न सबैले पहल गर्नुपर्ने सुझाव उहाँले दिनुभयो ।

विगतमा अहिलेको जस्तो खबर आदानप्रदान गर्ने सञ्चारका माध्यम ९टेलिफोन, सामाजिक सञ्जाल० थिएन । त्यति बेला धेरैलाई थाहा होस् भनेर लामो ‘बाट’ हाल्नु स्वाभाविक भए पनि अब यसलाई कम गर्नुपर्ने कुशे गाउँपालिका–५, खुर्पाका बासिन्दा हरिबहादुर सिंहले बताउनुभयो ।