नेपालमा कस्तो राजनीतिलाई जिताउने ? कस्तो राजनीतिक दृष्टिकोण र अभ्यासलाई प्राथमिकता दिने ? आजसम्म गठबन्धनको राजनीतिले देशलाई कसरी कमजोर बनाउँदैछ ? भन्ने प्रश्नहरूसँगै अन्तराष्ट्रिय राजनीति खासगरी सिक्किम र युक्रेनको राजनीति र अभ्यासलाई पनि बुझ्नुपर्छ। सिक्किम कसरी भारतमा गाभियो ? युक्रेन किन र कसरी ध्वंस र विभाजनको संघारमा पुग्यो ? हामी माथिका प्रश्नहरूमा स्पष्ट भएर आगामी मंसिर ४ मा कुन राजनीतिलाई जिताउने भनेर निष्कर्षमा पुग्नु पर्नेछ। तर आमनागरिक सही निष्कर्षमा नपुगुन भनेर कम्फर्टेबल सत्ता गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र उम्मेदवारहरू र राज्यको चौथो अंगसँग पनि अघोषित गठबन्धन बनाएको छ।
श्रीमतीलाई राजनीतिमा स्थापित गराउन
पार्टी र राज्य सत्ताको दुरूपयोग गर्नेहरूबाट !
आफू र आफ्नालाई चुनाव जित्न जिताउन
क्षेत्र फेरि फेरि गठबन्धन गरी गरी उठ्नेहरूबाट !
आफ्नो छोरीलाई टिकट दिलाउन र जिताउन
कथित आदर्श र त्यागको घोषणा गर्नेहरूबाट !
नयाँ राजनीतिबाट एमालेलाई हराउँछौं भनेर
देशका विरूद्ध सिमापारीबाट ढुंगा हान्नेहरूबाट !
हिजो लोकतन्त्र र संविधान जोगाउन भन्दै
देश कमजोर बनाउने सत्ता गठबन्धनबाट !
स्वतन्त्र र निष्पक्ष न्यायलयको बखान गरेर
सेटिङमा न्यायलय कब्जा गर्नेहरूबाट !
हाम्रो क्षमता र योग्यताको परीक्षण हुँदैछ किनभने देश, लोकतन्त्र र संविधान जोगाउने चुनौती हामी नेपालीमाथि आएको छ। त्यसैले आगामी निर्वाचन कुनै एक पार्टीको जितहारको विषय होइन, देशलाई जिताउने कि हराउने प्रश्न मुख्य हो भनेर हामीले बुझ्नुपर्छ। देशलाई जिताउँदा सिक्किमीकरणको पछिल्लो अभियान असफलमात्र हुने छैन् युक्रेनीयनले जस्तो दुर्दशा पनि व्यहोर्नु पर्नेछ।
सिक्किम भारतमा विलय भएको घटना पुरानो भयो, युक्रेनको नयाँ घटनाबाट सिक्नुपर्ने भएको छ। हिजो युक्रेनका जनताले भ्रम र गलत प्रभावमा परेर जेलेन्स्कीलाई राष्ट्रपति बनाउँदा जेलेन्स्कीको खराब नीति, नियत र अभ्यासको कारणले आज युक्रेनले ध्वंस र विभाजन व्यहोर्दैछ। यसबाट हामीले सिक्न सिकाउन सकेनौं र भ्रमित भएर गएको स्थानीय चुनावमा बालेनलाई जितायौं। उनको गलत नीति र नियतका कारणले काठमाडौं महानगर समस्यामा पर्दैछ। अब फेरि आमनिर्वाचनमा झैं भ्रम र प्रभावमा परेर पाँच प्लस दलीय गठबन्धनलाई जितायौं भने भोलि देशको अस्तित्व नै संकटमा पर्न सक्छ। त्यसैले कुनै भ्रम, प्रभाव र प्रलोभनमा नपरौं !
अहिले कायर र लायरहरू वैचारिक र राजनैतिक रूपमा चुनावी प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने बाटो छोडेर फलानो फलानो नेता हराऔं भन्दै सामाजिक सञ्जालमा ‘नो नट एगेन’ को नारा लगाउँदै नयाँ पुस्तालाई दिग्भ्रमित बनाउन खोज्दैछन्। यो नारा लगाउनेहरू प्रायः सबै कोही ईडिभी भर्दैछन् भने कोही भिसा लागेमा कुनैपनि बेला युरोप र अमेरिका उड्ने तयारीमा छन्। जो अहिले दुईचार जोईको पोई जिताउनु पर्छ पनि भन्दैछन्। सत्ता गठबन्धनको उम्मेदवारलाई मत नदिए पाप धुरीबाट कराउँछ भनेर जनता तर्साउन प्रचण्ड लागेका छन् भने माधव नेपाल केपी ओली अर्थात एमालेले चुनाव जिते देश छोडेर भाग्नुपर्छ भन्दैछन्।
गठबन्धनका नेताहरू जहाँ जहाँ जान्छन्, त्यहाँको भेलामा केपी ओलीको मात्र विरोधमा बोलेर कार्यकर्ताहरूलाई प्रशिक्षित गराउन व्यस्त देखिन्छन्। ति नेताहरूले चुनावी भेला वा कार्यकर्ता प्रशिक्षणमा देश सम्वृद्ध बनाउने र नागरिक पलायन रोक्ने कुनै कुरा गरेनन्। प्रायः सबैले केपी ओलीको विरोध गरेर चुनाव जितिन्छ भन्ने मनोविज्ञानका साथ बोलेको पाइयो। उनीहरूले केपी ओलीको विरोध गरे जनताले पत्याउँछन् भन्ने ठानेका छन्। तर जनता देश सम्वृद्ध बनाउने भिजन र मिसन बोकेको दल र नेताको पक्षमा लागेर देश जिताउने पक्षमा छन् भन्ने कुरा तिनले अझै बुझ्न चाहेको देखिएन।
कुनै एक व्यक्ति वा दललाई भौतिक रूपमा कमजोर बनाउन र खतम पार्न सकिन्छ तर उसको विचार र अभियानलाई कमजोर बनाउन र खतम पार्न सकिन्न। तर गठबन्धनका नेताहरू यो तथ्य र सत्यलाई बिर्सिएर जननेता मदन भण्डारीको जनताको बहुदलीय जनवादबाट दीक्षित नेता तथा कार्यकर्ताहरूको मनोबल कमजोर बनाएर नेकपा एमालेलाई पराजित गर्न जनतालाई भ्रमित बनाएर झुक्याउन खोज्दैछन्।
गठबन्धन गरेर मात्र एमालेलाई पराजित गर्न नसक्ने भएपछि २०७२ को भारतीय नाकाबन्दीलाई सघाउनेहरू कोही स्वतन्त्र उम्मेदवार बनेर त कोही राजनीतिक विश्लेषक बनेर त्यतिखेर नाकाबन्दीका विरूद्ध दृढताका साथ उभिने केपी ओली एमालेलाई हराउन लागि परेका छन्। अचम्मको कुरो त के भने जसले हिजो पृथ्वीनारायण शाहलाई विस्तारवादी भन्दै सालिक भत्काउनेहरू नै आज चुनाव जित्न गोरखाबाट उम्मेदवार भएर गोरखा दरबार चाहर्दैछन्। नेपाली कांग्रेस तिनै पात्रहरूसँग सहकार्य गरेर नेकपा एमाले हराउने कल्पनामा रमाउँदा आफैं सकिने अवस्थामा मात्र पुगेको छैन्, देशलाई पनि घात गरिरहेको छ।
नेपाली कांग्रेसका नेता र कार्यकर्ता तथा शुभचिन्तकहरूले शेरबहादुर देउवाको नेतृत्वबाट राजनीतिक रूपमा कांग्रेस जोगाउने होभने रूख चिन्हमा मात्र स्वस्तिक छाप लगाउने वा भोट दिने मन बनाउनु पर्छ। प्रचण्ड र माधवका पार्टीका उम्मेदवारहरूलाई जिताएर कांग्रेस बलियो बन्नेवाला छैन भनेर बुझ्नुपर्छ। किनभने आफ्नै घरमा आगो लगाउने माधव, झलनाथ र प्रचण्ड अर्थात माझण्डहरू अवसरवाद र गद्दारीका गतिलो उदाहरण हुन्। त्यसैले नेकाका नेताहरूले व्यक्तिगत लाभहानी हेरेर होइन, राष्ट्रिय र दलगत स्वार्थ हेरेर राजनीतिक समिकरण बनाउने क्षमता देखाउन सक्नुपर्छ।
यो तथ्यांकहरू के भन्छर ? कांग्रेसका नेताहरूले बुझ्नु पर्ने हो।
विपी काल १०१५ सालः दुई तिहाई बहुमत
भट्टराई काल २०४८ सालः पूर्ण बहुमत
जिपी कालःः २०५६ सालः पूर्ण बहुमत
देउवा काल २०७४ सालः अल्पमत
देउवा काल २०७९ सालः हाराहारीमा आधामात्र उम्मेदवारी
१६५ सबै क्षेत्रहरूमा उम्मेदवारी दिन नसक्ने र एक्लै जित्छुभन्ने आँट नभएका शेरबहादुर देउवाका कारणले कांग्रेस पतनोन्मुख हुँदैछ जसरी सोनिया राहुल कालमा भारतीय कांग्रेस आई कमजोर भइरहेको छ। तर यो तथ्य र तथ्यांक बिर्सिएर नेपाली कांग्रेसका दुई युवा महामन्त्रीहरू आफू जित्ने र प्रधानमन्त्री बन्ने सपना देख्दैछन्। जबकि उनीहरूको सपनाले कांग्रेसमात्र होइन, देश नै कमजोर बनाउँदैछ।
उता प्रचण्ड भन्दैछन्, सत्ता गठबन्धनको उम्मेदवारलाई भोट नदिए पाप धुरीबाट कराउँछ। त्यही पाप लाग्ला कि भनेर महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माहरू रूखमा मात्र भोट हाल्छौं भन्न सकिरहेका छैनन्। शेखर कोईराला गठबन्धनको पक्षमा उभिएर देउवासँग आफ्नो कुनै मतभेद नभएको भन्दैछन्। यसबाट कांग्रेसभित्र उनीहरू देश बलियो बनाउने राजनीतिमा छैनन् भन्ने कुराका प्रमाण हुन्। त्यतिमात्र होइन, उनीहरूले जयसिंह धामीको मृत्यु प्रकरणमा पनि बोलेनन्।
जयसिंह धामीलाई महाकालीमा बगाइयो, मारियो बोलेनौं,
स्वतन्त्र पराष्ट्र नीति छोड्यो, केही भनेनौं।
अंसलग्न परराष्ट्र नीति छोडेर नाटोको पक्षमा उभियौं,
कमेडी गरेकै आधारमा अपूर्वलाई मुद्दा लगाएर फसायौं।
अहिले आमजनता झुक्याउन
दाँया बाँया प्रचण्ड र माधव राखेर भाषण ठोक्छौं।
हिजोआज लोकतन्त्र र संविधान जोगायौं भन्दै देशलाई सके सिक्किमीकरण नसके फिजिकरणको बाटोमा लैजान नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीहरू देश दौडाहामा छन्। त्यसैले देशलाई सिक्किमीकरण हुनबाट रोक्न जनताले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनलाई पराजित गर्ने संकल्प गर्नुपर्ने भएको छ। गठबन्धनलाई हराऔं र देशलाई जिताऔं भन्ने नारा साकार पार्नुपर्ने पनि भएको छ।