२ मंसिर २०८१, आइतबार 1731860333
Banner

राजनीतिमा नतिजा रातारात होइन, समयसँगै आउँछ

हुने बिरूवाको चिल्लो पात भने झैं “सकारात्मक सोच र रचनात्मक व्यवहारले मात्रै परिवर्तनलाई गुणात्मक बनाउन सकिन्छ।” जसले जनअपेक्षाहरूको सम्बोधन गर्दै “सम्वृद्ध नेपाल सुखी नेपाली” बनाउने राष्ट्रिय संकल्प पूरा गर्ने आधार तयार गर्न सक्छ। आज देशले हामीबाट त्यो सकारात्मक सोच र रचनात्मक व्यवहार खोजेको छ। यसका लागि भिंडका पछाडि लाग्ने नेता होइन, भिंडलाई ठीक बाटोमा हिंडाउन सक्ने वैचारिक राजनीतिक नेतृत्व आवश्यक थियो। तर २०७९ मंसिर ४ को चुनावमा जनताले राजनीतिक दर्शनबाट होइन भ्रमको भिंडबाट प्रभावित भएर जनादेश दिए। जसका कारणले नेपाल फेरि पनि राजनैतिक अस्थिरताको अर्को चरणमा प्रवेस गरेको छ। यो चुनावी परिणामबाट उत्साहित भएर बाह्य शक्तिहरू नेपालमा नियन्त्रित अस्थिरता बढाएर आफ्नो स्वार्थअनुकुल निर्णय गराउन आफ्नो क्रियाशीलता बढाएका छन्। हामीले बुझ्नुपर्छ, हाम्रै राजनीतिक कमजोरी र अभ्यासका कारणले यो खालको परिस्थितिको विकास भएको हो।

राजनीति नीतिहरूको राजामात्रै होइन, प्रमाण नभएका तथ्यहरूमा तर्क गरेर जनमनलाई जित्ने विज्ञान पनि हो। तर यो विज्ञानलाई नबुझेर मान्छेहरू राजनीतिलाई फोहोरी खेल भन्दैछन्, वास्तव यो फोहोरी खेल होइन, बुर्जुवा लोकतन्त्रको चरित्रले विकास गरेको मनोविज्ञान हो। राजनीति त देश र जनताको सेवामा रमाउने कलात्मक विधि, विज्ञान र नीति हो। तर यो बुझाई हामीमा नआउँदा विचारहिन राजनीति र भ्रमहरूबाट जनमन प्रभावित हुनपुग्यो। बुर्जुवा लोकतन्त्रको विशेषता भनेकै जसरी पनि चुनाव जित्ने र प्राविधिक बहुमतले वास्तविक बहुमतमाथि शासन गर्ने हो। त्यसैले यो पूर्ण लोकतन्त्र होइन। यसलाई पूर्ण लोकतन्त्र बनाउन स्वच्छ र वैचारिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र वास्तविक बहुमतले शासन गर्ने विधि स्थापित गर्नुपर्छ भनेर जनताको बहुदलीय जनवाद जबजे ले भनेको छ। त्यसैले जननेता मदन भण्डारीको विचार “जबज”बाट प्रशिक्षित नेता तथा कार्यकर्ताहरूबीच सुदृढ एकता बनाएर अगाडिको यात्रा तय गर्नुपर्ने राजनीतिक परिस्थिति बनेको छ।

भ्रम, भद्रगोल र अदृश्य प्रलोभनको जगमा देखिने भिंडको राजनीतिले केही समय देशलाई समस्यामा पार्न सक्छ भन्ने कुरा २०७९ को जनादेशले बनेको त्रिशंकु संसदले प्रमाणित गरेको छ। राप्रपा र नयाँ पार्टीहरूले पाएको जनमत सकारात्मक राजनीतिको परिणाम होइन। तिनले पुराना दल र नेताहरूको विरोध गरे तर आफ्नो सबल र असल अनि वैचारिक पक्ष भन्दै भनेनन्। आफ्नो असल र सबल अनि वैचारिक पक्षको जगमा राजनीति नगर्नेहरूको वाहवाही गरेर हामी नेपालीले आफ्नै खुट्टामा बञ्चरो हान्दैछौं ! आए आँप गए झटारो प्रकृतिको राजनीतिमा रमाउँदैछौं ! यसले हाम्रो चेतना र व्यवहार मिल्न नसकेको संकेत गरेको छ। मतलब हामी सत्यतथ्य नै नबुझी भ्रमित भिंडको पछि-पछि कुदिरहेका छौं भन्ने हो। अनि त दक्षिणपन्थी अवसरवादीहरू यहि भ्रमित भिंडको नेता बनेर हामी नयाँ र परिवर्तनका संवाहक हौं, भन्दैछन्। फेरि तिनका विगत, चरित्र र प्रवृत्तिमाथि प्रश्नहरू नउठेका होइनन्। यस्तो राजनीतिले देशलाई भोलि अझ दुःख दिनेछ। हामीले बुझ्नुपर्छ, यो खालको जनताको मनस्थिति र राजनीतिक परिस्थिति बन्नुका पछाडि हाम्रा त्रुटीपूर्ण राजनीतिक क्रियाकलापहरू जिम्मेवार छन ।

अहिले संसद त्रिशंकु बनेको छ। संसदमा चुनिएर आएका केहि लोभिपापीहरूको पार्टीले राष्ट्रिय मान्यता पाएन। तर तिनका भाउ भने बढेको छ किनभने सरकार बनाउन बहुमत पुर्याउनमा तिनका भुमिका आवश्यक भएको छ। अब मन्त्रिमण्डलमा मन्त्रीको संख्या बढाउन नमिल्ने भएपछि आलोपाली प्रधानमन्त्रीमात्र होइन मन्त्रीका लागि पनि सहमति गर्नुपर्ने परिस्थिति बनेको छ। यो परिस्थितिले नेपालमा नियन्त्रित अस्थिरता चाहने बाह्य शक्तिहरू हौसिएर गतिविधिहरू बढाउन थालेका छन्। यसबाट वामपन्थी तथा देशभक्तहरूले सतर्क भएर देशका पक्षमा राजनीतिक निर्णयसहित गतिविधिहरू गर्ने क्षमता देखाउनु पर्ने समय भएको छ।

यतिखेर हामीले राजनीतिको रूप पक्ष हेरेर होइन, सार पक्ष बुझेर पनि राजनीतिको टिप्पणी र विश्लेषणहरू गर्नुपर्ने भएको छ। अहिले रातारात लोकप्रिय देखिएका पात्रहरूको चरित्र, व्यवहार र विगत अत्यन्त विवादास्पद भएको कहिं लुकेको छैन्। तैपनि हामीले तिनै पात्रलाई आदर्श ठानेर नेता मान्दैछौं। तर ति पात्रहरूका पछाडि को को छन्, क कसले लगानी गरिरहेका छन् ? त्यो अझै पनि खुलेको छैन्। कहिले खुल्छ ? अनुमान गर्न कठिन छ किनभने तिनले हिजो वैकल्पिक राजनीतिको नाममा केहि व्यक्तिहरूलाई त्यहि पक्षले सहयोग र समर्थन गरेको थियो। त्यसैले यो निर्वाचनको परिणामले जनअपेक्षाहरू पूरा गर्न सक्दैन्। नेपालमा आयातित मुद्दा स्थापित गर्न विभिन्न माध्यमहरूबाट बाह्य लगानीहरू भइरहेका छन्। ति लगानीहरूबाट हाम्रा प्राज्ञिक वर्ग अनि सञ्चार माध्यमहरू प्रभावित भएको पाईन्छ। तिनले असल विचार र मुद्दालाई स्थापित गर्न भन्दा आयातित विचार र मुद्दालाई स्थापित गर्न आफ्ना क्षमता र भूमिकाहरू प्रयोग गर्नलाई रमाएको देखियो। जसले राजनीति अस्थिर बनाएर नियन्त्रित अस्थिरता बढाउने काम गरेको छ। यो खालको प्राज्ञिक वर्ग तयार गर्ने शिक्षा व्यवस्थामाथि प्रश्न किन उठाउने कि नउठाउने भन्ने प्रश्न उठेको छ। यो प्रश्नको ठीक उत्तर खोज्ने उपयुक्त समय भएको छ।

हामी नेपाली पछाडि पर्नु र नेपाल कमजोर हुनुका धेरै कारणहरू छन्। प्राज्ञिक वर्गले आफ्नो क्षमता र भूमिका देश बनाउन भन्दा घर चलाउनमा केन्द्रीत गरेको देखिन्छ। अन्यथा उनीहरूले आफ्ना क्षमता र भूमिकाहरू देशको बृहत्तर स्वार्थमा उपयोग गर्न रमाउने थिए। तर रमाएनन् किनभने उनीहरूले बाह्य स्वार्थमा चल्दा धनोपार्जन गरिरहेका छन्। अन्तर्राष्ट्रिय दातृ निकाय तथा गैरसरकारी संस्थाहरूले पनि उनीहरूलाई आर्थिक प्रभावमा पारेर प्रयोग गरिरहेको अवस्था छ। यो सत्य तिनले र राज्यले पनि बुझेका छन् तर यो क्रमभंग गर्न न उनीहरू तयार छन् न त राज्य नै। यो खालको प्राज्ञिक मनोविज्ञानलाई उपयोग गर्न बाह्य शक्ति यो पटक लगभग सफल नै भयो भन्ने कुरा राष्ट्रिय शक्तिलाई कमजोर बनाएर त्रिशंकु संसद बनाउन सकेको तथ्यले प्रमाणित गरेको छ।

अब यो खालको बाह्य चलखेल कमजोर बनाउन सबभन्दा पहिला जनतालाई असल शिक्षा व्यवस्था र सामाजिक प्रबन्धहरूबाट प्रशिक्षत गरिरहनुपर्छ। यसका लागि नागरिक निर्यात गरेर वस्तु आयात गर्न सिकाउने शिक्षा व्यवस्था र आर्थिक नीतिलाई बदल्नु पर्छ। लाहुरे संस्कृतिलाई होइन, देशभित्रै परिश्रम गर्ने संस्कार र संस्कृतिको विकास गर्नुपर्छ। जनतालाई देशभित्रै उत्पादन र सेवा क्षेत्रमा जोडिने वातावरण बनाउनु पर्छ। यसका लागि राष्ट्रिय स्वार्थलाई केन्द्र भागमा राखेर चल्ने राजनीतिक दल र नेतृत्वलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित पनि गर्नुपर्छ। शिक्षादेखि लिएर राजनीतिलाई देशमुखी बनाउन सञ्चार माध्यमहरूले सकारात्मक र रचनात्मक भूमिका खेल्न सक्नुपर्छ।

हामीले बुझ्नुपर्छ, “भोलिको नेपाल कस्तो बनाउने भन्ने कुरा आजको शिक्षाको चरित्र र राजनीतिक दर्शन कस्तो भन्ने कुराले निर्धारण गर्दछ।” तर न आजको हाम्रो शिक्षाको चरित्रले देश भविष्य बनाउने परिकल्पना गरेको छ न त असल राजनीतिक दर्शनले जनअनुमोदित हुने अवसर पाएको छ। यी सबै नतिजा रातारात आएको भने पक्कै होइन, हामीले विगतमा लिएका खराब नीति र अभ्यासका कारणहरूले आज अनपेक्षित नतिजा आएको हो। त्यसैले विगतबाट सिकेर देशको भविष्य राम्रो बनाउनका लागि हामीले वर्तमानमा नयाँ ढंगले चल्ने प्रतिबद्धतासहित आदर्शअनुरूपको व्यवहार गर्ने राजनीतिक संकल्प गर्दै अघि बढ्नु पर्ने भएको छ।

चुनाव अघि कम्फर्टेबल गठबन्धनमा रहेका दलका नेताहरू भन्दैथे, “संविधान र लोकतन्त्रमाथि खतरा छ, त्यसैले गठबन्धन आवश्यक छ।” अहिले चुनावी परिणाम पछि तिनै नेताहरू भन्दैछन्, “संविधान र लोकतन्त्र सुरक्षित भयो, त्यसैले कम्फर्टेबल गठबन्धनको सरकार।” यो कस्तो बुझाइ र विश्लेषण हो ? यो बुझाइ र विश्लेषणले देशको भविष्य कस्तो बनाउन खोजेको छ ? उत्तर खोज्नु पर्ने भएको छ। अहिले नयाँ राम्रा अनि पुरानाजति नराम्रा भन्ने भाष्य निर्माण गर्न खोजिदैछ। यसका लागि केहि प्राज्ञिक वर्ग तथा विश्लेषकहरूलाई त्यहिअनुसार लगानी पनि गरिदैछ। चुनावमा कम मतदान हुनु र पुराना दलहरूको लोकप्रिय जनमत घट्नुका पछाडि कम्फर्टेबल राजनीतिले जनतामा बढाएको निराशा र वितृष्णाको परिणाम हो। जनतामा बढेको यहि निराशा र वितृष्णाको जगमा नयाँ दलहरूले अनपेक्षित परिणाम ल्याएका हुन्। नकारात्मक भाष्यको जगमा गरिने राजनीतिले न जनताको अपेक्षा सम्बोधन गर्ने क्षमता राख्छ न त राष्ट्रिय आवश्यकताहरूलाई बुझेर अघि बढ्न सक्छ।

अमेरिकाले चाहेको प्रधानमन्त्री र भारतले चाहेको राष्ट्रपति बनाउने रणनीतिबमोजिम गठबन्धनको कम्फर्टेबल राजनीतिले एकातिर राष्ट्रिय स्वाभिमान कमजोर बनाउँदैछभने अर्कातिर शक्ति राष्ट्रहरूको चलखेल बढाउँदैछ। तर आजको आवश्यकता शक्ति राष्ट्रहरूको रणनीतिअनुसार होइन, राष्ट्रिय स्वार्थअनुसार प्रधानमन्त्री र राष्ट्रपति छान्ने सत्ता समिकरण बन्नुपर्छ।