केही दिनदेखि दुई युवाहरूको फोटो सामाजिक सञ्जालमा सेयर गर्दै अहिलेको राजनैतिक तथा संवैधानिक व्यवस्थाको विरोध गर्दै सामाजिक मनोविज्ञानलाई नकारात्मक बनाउने प्रयास गरिदैछ। तर ति दुई युवाहरू जस्तै अन्य युवाहरू आफ्नो श्रम बेच्न वा सुरक्षित भविष्य खोज्न विदेशिनु पछिका कारणहरू खोजिदैन्। यतिखेर रूप पक्ष हेरेर मात्रै विरोधमा लेख्नु र बोल्नुलाई बौद्धिकता ठानिएको छ। जबकी त्यो बौद्धिकताको कुनै अर्थ छैन् किनभने तिनले सार पक्ष बुझेर समर्थन र विरोध गरिरहेका छैनन्। जसरी अहिले नकारात्मक सामाजिक मनोविज्ञान बनाउँदै राजनीति गर्न थालिदैछ, त्यसले हामीलाई अपेक्षित गन्तव्यमा पुग्न सघाउँदैन्। अनि ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रिय सङ्कल्प पूरा गर्न पनि दिदैन्।
“शिक्षामार्फत गुणात्मक मानव संसाधनको विकासविना राजनीतिले सकारात्मक परिवर्तनका लागि असल नेतृत्व र बलियो राजनीतिक शक्तिका रूपमा काम गर्न सक्दैन्। त्यसैले हामीले बुझ्नैपर्छ, अस्वस्थ प्रतिस्पर्धा त जंगलको नियम हो, तर समझदारी, सहयोग, समन्वय र सहकार्य अनि स्वस्थ र वैचारिक प्रतिस्पर्धा राम्रो सभ्यता र परिपूर्ण लोकतन्त्रको नियम हो।” आज यो नियम हाम्रो राजनीतिमा लागु हुन सकेको छैन् किनभने त्यो ढंगले प्रशिक्षित गर्ने शिक्षा तथा सामाजिक व्यवस्थाको विकास नै हुन सकेको छैन्। त्यसैले शिक्षा तथा सामाजिक व्यवस्थामा आमूल परिवर्तन गर्ने मुद्दा मुख्य राजनीतिक मुद्दा बनेको छैन्। जसले गर्दा राज्यले पनि यसलाई प्राथमिकतामा राखेर नीति बनाउने र लगानी जुटाउने प्रयास गरेको देखिदैन्। परिणामस्वरूप युवा पुस्ता आफ्नो भविष्य सुरक्षित बनाउने भ्रममा विदशिनु पर्छ भन्ने मनविज्ञानबाट निर्देशित भइरहेका छन्।
सामाजिक सञ्जालमा राजेन्द्र मानन्धर लेख्छन्, “जब म जवान थिएँ, मलाई लाग्थ्यो कि मानिसहरू भविष्यमा धेरै बौद्धिक हुनेछन्, तर अहिले म उनीहरूमा अधिक मूर्खता पाईरहेको छु।” बिल्कुल सही ! हाम्रो शिक्षा र सामाजिक व्यवस्थाले हामीलाई पहिले भन्दा धेरै मूर्ख र परनिर्भर बनाउँदैछ। यो लेखकलाई पनि लाग्छ, देशका लागि असल नागरिक र नेतृत्व तयार गर्न हामीले हाम्रो शिक्षा र सामाजिक व्यवस्थामा आमूल परिवर्तन नै गर्नुपर्छ। किनभने ठीक र गुणस्तरीय शिक्षाले मात्रै विद्यार्थी वा नयाँ पुस्तालाई भविष्यमा उनीहरूको व्यावसायिक र व्यक्तिगत जीवनमा सफल हुन मद्दत गर्छ। त्यतिमात्र होइन, उनीहरूले विषयवस्तु र राजनीतिलाई ठीक ढंगले बुझेर स्वतन्त्र धारणा बनाउने र असल जनप्रतिनिधि छान्ने क्षमता देखाउन पनि सक्नेछन्। अन्यथा यो वितृष्णाको जगमा राजनीतिलाई अस्थिर बनाउने तत्वहरू सक्रिय बन्ने वातावरण बनिरहन्छ।
पोहोर साल दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नेकपा एमाले फुटाउनेहरूले यो साल राजनीतिमा अपराधीकरणलाई वैधता दिन फौजदारी संहिता संसोधन सम्बन्धी अध्यादेश ल्याउने प्रयास गरेको छ। आज त्यो अध्यादेश राष्ट्रपति कार्यालयमा छ। उनीहरूको एउटै लक्ष्य फेरि पनि गठबन्धनको कम्फर्टेबल सरकार बनाउने र टिकाउने नै हो। माओवादी केन्द्रले नयाँ सरकार निर्माणमा नेपाली कांग्रेसलाई सघाउने अवस्था बनेन भने भोलि रबि लामिछानेको नागरिकता र पासपोर्ट सम्बन्धी मुद्दालाई सेटिङ गरेर थाँतीमा राखी ढिसमिस गराउन पनि सक्छ। यो खालको राजनीतिक गतिविधिले सामाजिक मनोविज्ञान सकारात्मक र रचनात्मक बनाउन सहयोग गर्दैन्। नेताहरूले बुझ्नुपर्थ्यो, नेतृत्वको मतलब काम कम र खराब गर्ने लाईसेन्स होइन, जिम्मेवारीका साथ सकारात्मक र रचनात्मक भएर अझ धेरै असल काम गर्नु हो।
पत्रकार तथा विश्लेषकहरू राजनीति र राजनीतिज्ञहरू ठीक भएन भनेर समाचार बनाउँछन्, टिप्पणी र विश्लेषणहरू लेख्छन्। तर पत्रकार तथा विश्ललेषकहरू आफैंभने कस्ता छन् ? उनीहरूको पत्रकारिता र विश्लेषण कस्तो छ ? त्यो भने भन्दैनन्। पत्रकारको आवरणमा दुई नम्बरी गरेर कमाउने र घरबार चलाउने कति छन् कति ? तर यो समाचार बन्दैन्।
यतिखेर २०७९ मंसिर ४ को चुनावी परिणाम कम्फर्टेबल गठबन्धनको पक्षमा पनि गएन, पाँच दल मिलेर चुनाव लड्दा पनि बहुमत आएन। विपक्षी दल नेकपा एमालेको पक्षमा पनि जनादेश भएन। २०७४ को गठबन्धनले स्पष्ट बहुमत ल्याएको थियो भने २०७९ मा गठबन्धनले सामान्य बहुमत पनि ल्याउन सकेन। यसबाट स्पष्ट हुन सकिन्छ, गठबन्धनको प्रकृति यो पटक मिलेन। तर यस्तो जनादेशलाई छाँयामा पार्ने खालका टिप्पणी, विश्लेषण, संवाद र समाचारहरू आइरहेका छन्। पत्रपत्रिकामा पढ्न पाईन्छ, अघिल्लो गठबन्धनको नेताको हैसियतमा केपी ओलीले बहुमत जोगाउन सकेनन्। तर किन जोगिएन, त्यसको कारणहरू भने भन्दैनन्। अझै पनि रूप पक्षलाई मात्र हेरेर एकोहोरो केपी ओलीमाथि आरोप लगाउनेहरूको कुनै कमि छैन्। यो लेखकले भन्न खोजेको कुरो के होभने सार पक्ष हेरेर बुझेर मात्रै हामी निष्कर्षमा पु्ग्नुपर्छ।
अहिले राजनैतिक परिस्थिति कस्तो बन्योभने गठबन्धन बनाएर नेपाली कांग्रेस आफै कमजोर बन्न रमायो अनि गठबन्धन बनाएर नेकपा एमालेलाई कमजोर बनाउन नेपाली कांग्रेस सफल भएको छ। जबकी २०७९ को चुनावमा अप्राकृतिक गठबन्धन बनाएर नेपाली कांग्रेस चुनावमा नगएको भए कांग्रेस वा एमाले मध्ये कुनै एउटा दल राजनीतिक रूपमा अझ बलियो हुनेथियो। जसले आजको जस्तो बाह्य चलखेल सहज बन्ने थिएन। तर अब यो यथार्थ ईतिहास हुँदैछ र अर्को पाँच वर्ष देश अस्थिर हुनेछ। त्यसैले सत्ता समिकरण नयाँ बनाउनु पर्ने भएको छ।
सर्वोच्च अदालत प्रयोग गरेर नेकपा एमालेको अगुवाईमा सुरू भएको अग्रगमनको यात्रा रोकियो अनि गठबन्धनले सर्वोच्च अदालतको मुख थुनेर त्यसलाई स्वतन्त्र र निष्पक्ष हुन दिइएन। यसका लागि गठबन्धनले प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणामाथि महाअभियोग पनि लगायो। त्यतिले पनि नपुगेर राणालाई सेवा अवधि भर प्रधानन्यायधीश निवास मै नजरबन्द गरिएको थियो। गठबन्धनको यो खालको ज्यादती र असंवैधानिक कदमको बचाउमा मिडिया र बार उभियो। जसका कारणले जनमन भ्रमित बन्न पुग्यो र त्रिशंकु संसद बन्यो। यसलाई जानेर नजानेर जनताले आफ्नो मताधिकार प्रयोग गर्दा अराजक, अनैतिक र चरित्रहिन पात्रले पनि चुनाव जित्ने अवस्था बन्यो। तैपनि जनताहरू भन्दैछन्, पाँच वर्ष हेरौं ! तर उनीहरूलाई थाहा भएन, यो जनादेशले देशलाई पछाडि पार्दैछ। अब त्यस्ता कमजोर पात्रहरूलाई प्रयोग गरेर बाह्य शक्तिले आफ्ना रणनीतिहरू सफल बनाउने प्रयत्न गर्नेछन्।
आजको राजनीतिको मुख्य मुद्दा नागरिक निर्यात गरेर वस्तु आयात गर्न सिकाउने शिक्षा तथा सामाजिक व्यवस्था अनि अर्थ नीतिमा परिवर्तन गर्ने हुनुपर्छ। यो खराब व्यवस्था र नीतिहरू कायम भएसम्म जनअपेक्षाहरू सम्बोधन गर्ने देशको क्षमता बन्दैन् भन्ने चेत हामीमा आउनुपर्छ। तर अहिलेसम्म आएको छैन्, किन ? उत्तर खोज्नुपर्ने भएको छ। त्यो उत्तर खोज्न सिकाउने शिक्षा तथा सामाजिक व्यवस्था देशले खोजेको छ। तर हामीभने राजनीतिलाई दोष दिएर रोमान्चित हुन खोजिरहेका छौं।
लोकतन्त्रलाई परिपूर्ण र बलियो बनाउने तत्परतासहित अग्रसरता लिने राजनीतिक पात्र र प्रवृत्तिलाई राष्ट्रपति बनाउन सकिएन भने एकातिर लोकतान्त्रिक गणतन्त्रमाथि समस्या आउनेछ भने अर्कातिर बाह्य शक्तिहरूको चलखेल बढ्नेछ। यसर्थ यतिखेर बाह्य स्वार्थमा चल्न रमाउने पात्रालाई प्रधानमन्त्री बनाउने र अराजनीतिक पृष्ठभूमिको पात्रलाई राष्ट्रपति बनाउने तर्क र जोडबलका प्रयासहरूको विपक्षमा उभिनु पर्नेछ। प्रधानमन्त्री देशको स्वार्थमा रमाउने, राष्ट्रपति राजनीति बुझेको र जानेको अनि देशमै क्रियाशील भइरहेको असल पात्रलाई बनाउनु पर्छ भनेर पैरवी गर्नुपर्ने भएको छ। देशले हाम्रा राजनीतिक नेतृत्वहरूमा त्यो सुझबुझ र चेतना खोजेको छ।
आज हामीलाई भ्रमित भीडलाई ठीक बाटोमा हिंडाउने राजनीति र वैचारिक नेतृत्व चाहिएको छ नकि भ्रमित भीडको पछि(पछि लाग्ने। त्यसैले यो बेलामा हाम्रा क्षमता र प्रयासहरूले राजनीतिलाई ठीक र नेतृत्वलाई असल बनाउँदै देशको स्वार्थमा क्रियाशील हुन प्रेरित गर्ने भूमिका निर्वाह गर्न सक्नुपर्छ। अमेरिकाको स्वार्थमा चल्ने प्रधानमन्त्री र भारतको स्वार्थ हेर्ने राष्ट्रपति बनाउने प्रयासहरू भइरहेका छन्। अहिले उनीहरू पात्रमा अलमलिएका छन्। कुन पात्रलाई कुन पदमा ल्याउँदा सहज होला भनेर निष्कर्षमा पुग्न नसक्दा कम्फर्टेबल गठबन्धन भत्किन्छ कि भनेर चिन्तित पनि भएका छन्। यसबाट हामीले बुझ्नुपर्छ, राष्ट्रिय स्वार्थहरू बलियो बनाउन गठबन्धन भत्काउनु पर्ने भएको छ।
हामी भ्रम र अतिवादहरूबाट पीडित भइरहेका छौं, हिजोल क्रान्तिका नाममा हतियार बोकेको अतिवादले हामीलाई थर्काउँथ्यो भने आज नयाँ र स्वतन्त्रको नारा लगाउने अतिवादले सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूबाट थर्काउन खोज्दैछ। यी खालका भ्रम र अतिवादहरूको अन्त्य शिक्षा तथा सामाजिक व्यवस्थामा आमूल परिवर्तन नगरी सम्भव बनाउन सकिदैन् किनभने यसका लागि सामाजिक चेतना सकारात्मक र रचनात्मक बनाउनु पर्नेछ।