२६ जेष्ठ २०८३, मंगलबार 1781062176
Banner

अर्थतन्त्र सुधारका लागि गरिने प्रयत्नमा अब ढिलाइ नगरौं :राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताउनुभएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उहाँले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अर्थतन्त्र सुधार्न आन्तरिक उत्पादन वृद्धिका लागि समन्वयात्मक रुपमा काम गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

राष्ट्रपति भण्डारीले भन्नुभयो, “कृषि उत्पादनलाई केन्द्रमा राखेर समयमै मल, बीउ, प्रविधि तथा उपकरण सहज रुपमा उपलब्ध गराउनुपर्छ ।” कृषिमा पूर्णकालीन रोजगारी उपलब्ध गराउनु आवश्यक रहेको उल्लेख गर्दै उहाँले गरिबी न्यूनीकरणका लागि उद्योग क्षेत्रको रोजगारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले कामका लागि युवा विदेसिने अवस्थाको अन्त्य गर्न मुलुकभित्रै रोजगारी सिजर्नाका लागि सार्वजनिक र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले सबैले गुणस्तरीय शिक्षा पाउनुपर्ने जनताको नैसर्गिक अधिकारका लागि गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी पाठ्यक्रम र पठनपाठन पनि आवश्यक रहेकामा जोड दिनुभयो ।