काठमाडौं। लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने भएको छ। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको जनाएको छ।
प्रदेशकासभामुख तुलाराम घर्तीको निर्देशनमा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम (३) बमोजिम अनुरुप बैठक आह्वान गरिएको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए।
आज बस्ने बैठकमा प्रदेशसभामा बोल्नका लागि विषेश समय छुट्याइने र मुख्यमन्त्री लिला गिरीबाट ‘लुम्बिनी प्रशिक्षण प्रतिष्ठान’ सम्बन्धी विधेक प्रदेशसभामा पेस गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
सोमबार बस्ने बैठकमा कांग्रेससहित अन्य दलले मुख्यमन्त्री लिला गिरीको राजीनामा माग्ने तयारी गरेका छन्।
यता लुम्बिनीमा एमालेका मुख्यमन्त्री गिरीलाई कांग्रेस, माओवादीसहित ८ दलले समर्थन फिर्ता लिइसकेकाले सरकार अल्पमतमा छ । त्यहीबीच ५४ जना प्रदेशसभा सदस्यले कांग्रेसका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न भन्दै प्रदेश प्रमुख अमक्ष दाबी पेस गरेका छन्।