२६ जेष्ठ २०८३, मंगलबार 1781069077
Banner

मलाई सिध्याउन मुद्दा हालियो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो कारणबाट अहिलेसम्म एक जना मान्छे पनि पीडित नभएको बताएका छन्।

वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारी दर्तापछि घरदैलो कार्यक्रममा बोल्दै उनले आफूलाई सिध्याउन र तर्साउन मुद्दामाथि मुद्दा हालिएको बताए।

उनले भने, ‘अझै पनि भ्रममा पारेर यसलाई तर्साउन सकिन्छ कि सिध्याउन सकिन्छ कि भनेर मुद्दामाथि मुद्दा हालेको देखिएको छ। मलाई यो मुद्दाहरूसँग केही लिनु छैन। मैले नेपाली जनतादेखि राज्यलाई आफ्नो अवस्थाबारे इमानदारीपूर्वक बताएको छु। मैले केही लुकाएको र छिपाएको छैन। यसले अपराध गर्यो। यसले गरेको अपराधबाट यो मान्छे पीडित भयो भनेर एक जना मान्छे देखाइदिनुस्। मेरा कारणबाट कोही पीडित भएको छैन।’

उनले आफूहरूको शान्त विद्रोह गरेर कसैलाई केही नगरीकन २० सिट जितेको बताए।

उनले भने, ‘कसैलाई ढुंगा नहानी, रेलिङ नभाँची, टायर नबालीकन पनि यो देशमा क्रान्ति गर्न सकिन्छ भन्ने कुरा ६ महिनामा २० जना सांसद ल्याएर हामीले प्रस्तुत गरेका हौँ। यो शान्त विद्रोहबाट किन यति धेरै आत्तिएका हुन् भन्ने मलाई थाहा छैन। हामी आफ्नो हालीमुहालीको लागि होइन, असल मान्छेहरूका लागि पार्टी बनाइरहेका छौँ।’