२७ भदौ २०८३, शनिबार 1789267268
Banner

विक्रम पाण्डेसहित २१ जनाको मुद्दामा पुनरावेदन

काठमाडौं । सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार भएको आरोप लागेका पूर्वमन्त्रीसमेत रहेका राप्रपाका सांसद विक्रम पाण्डेसहित २१ जनालाई सफाइ दिने विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्च अदालतमा पुनरावेदन परेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार सर्वोच्चमा पुनरावेदन दायर गरेको प्रवक्ता भोला दाहालले बताए।

विशेष अदालतले गत असारमा उनीहरूलाई सफाइ दिएको थियो। अख्तियारले २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका प्रमुख पाण्डे, आयोजना प्रमुखहरू सर्वदेव प्रसाद, सरोजचन्द्र पण्डित, दिलीपबहादुर कार्की, रमेश बस्नेत, आयोजनाका ९ जना सिडिई इन्जिनियर, सिँचाइ विभागका तीन इन्जिनियर, कालिका कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक र ३ जना इन्जिनियरविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। ठेक्का सम्झौताविपरीत ठेकेदार कम्पनी र सिँचाइ आयोजनाका प्रमुख तथा इन्जिनियरहरूले नहर निर्माणमा अनियमितता गरेको अख्तियारले ठहर गरेको थियो।