१४ असार २०८३, आइतबार 1782660317
Banner

बीमा रकम दिलाइ दिन्छु भनी ठगी गर्ने ६ पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै मृत्यु भएकाहरूको परिवारलाई बीमा रकम दिलाई दिन्छु भनी परिवारका सदस्यलाई प्रलोभनमा पारी ठगी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पक्राउ पर्नेमा काभ्रेपलान्चोकका ४१ वर्षीय रामबहादुर तामाङ, सर्लाहीका ३४ वर्षीय विनोदकुमार लामा, ४० वर्षीय डिकबहादुर मल्ल, ३५ वर्षीय रवीन्द्र मोक्तान, ३५ वर्षीय प्रकाशबहादुर गोले र ३९ वर्षीय रुद्रमान गोले रहेका छन् ।

विविध कारणले विदेशमै निधन भएकाहरूको बीमा बापतको रुपियाँमध्ये रकम आफू लिई केही रकम मात्र परिवारका सदस्यहरूलाई उपलब्ध गराएको आरोपमा प्रहरीले तिनीहरूलाई पक्राउ गरेको जनाएको छ । 

बीमा रकममा ठगी गरेको उजुरीका आधारमा प्रहरीले काठमाडौंको गोङ्गबुबाट बिहीबार पक्राउ गरेको जनाएको छ । मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्मदर्ता, मृत्युदर्ता, बीमा कम्पनीको लेटरप्याडसहित उनीहरूलाई पक्राउ गरिएको रेग्मीले बताउनुभयो ।