२०७९ साल वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा देशैभरिका ७५३ वटै स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिए । एकै चरणमा भएको चुनावले काँग्रेस एमाले माओवादी साथै अन्य दलहरुले नयाँ–नयाँ जनप्रतिनिधि चुने । काठमाडौं महानगरपालिकाका ३२ वटा वडा मध्ये नेपाली काँग्रेसले १९ नेकपा एमालेले १२ र नेकपा समाजवादीले १ वटा वडा अध्यक्षमा आफनो जित हासिल गर्न सफल भयो । काठमाडौं महानगरपालिका वडा नम्बर १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठले जित हासिल गर्न सफल भएका थिए । अहिले वडा अध्यक्षका रुपमा निर्वाचित भएर १ बर्षे कार्यकाल सकिनै लाग्दा काठमाडौं महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठसँग स्थानीय तहको वडा अध्यक्षको रूपमा रहेर काम गर्दाको अनुभव, समीक्षा, समस्या र आगामी योजनाका बारेमा सूचनाप्रेसले गरेको कुराकानी :
वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज भईरहेको छ ?
काम गर्न गाह्रो छ भन्न मिलेन, हामी जनताका प्रतिनिधि भएकाले सबैको चित्त बुझ्ने गरी काम गछौं भनेर नै निर्वाचित भएका हौं । हामी निर्वाचित भएर आएको एक बर्ष पुग्न लागिसकेको छ । वडाले आफनो बार्षिक योजना अनुसार ठुला काम सम्पन्न गर्न नसकेपनि साना तिना कामहरु गरिरहेका छौ । काठमाडौंमा सवैभन्दा ठुलो समस्या भनेको ढल हो, यो ढललाई जबसम्म हामी व्यवस्थित गर्न सक्दैनौ त्यसले बाटो घाटोपनि नराम्रो हुन सक्छ जसले गर्दा हामीले पहिलो प्राथमिकतामा ढल निमार्णको कार्यलाई तिब्रता दिएका छौ । जसअन्र्तगत भगवती वहालदेखि हात्तिसार टुकुचाछेउ सम्म नयाँ ढल राख्नुपर्छ पुरानो ढल फेर्नुपर्छ भन्ने आवाज उठेकाले हामी त्यसैको योजनामा लागिरहेका छौ । हेरौं यसो गछौ उसो गछौ भन्दा भन्दै वैशाख गईसक्यो जेठ र असारसम्ममा भ्याउनेजति काम गछौं ।
तपाई निर्वाचित भएर आउनुभएको एक बर्ष पुग्न लाग्यो, जनताले महसुस गर्ने काम के के गर्नु भयो ?
जहाँ सम्म लाग्छ अहिले जतिपनि काम भईरहेका छन जनतालाई हुने जनताले भनेका कामहरु भईरहेका छन् । हामीले यो काम त्यो काम भन्ने नै छैन । हाम्रो काम भनेकै जनतालाई जुन चिज आवश्यक हुन्छ त्यही काममा हाम्रो बढि ध्यान केन्द्रित हुने हो । मैले अघि नै भनिसके नी यहाँका जनतालाई सवैभन्दा बढि समस्या भएको ढल, पेटी सडक हो। अब यो देशमा के छ भने प्राधिकरण आउँछ एक चोटी खन्छ, मेलम्ची आउँछ अर्को चोटी खन्छ, अर्को थरि आउँछ खन्छ, खनेरै काठमाडौंको सौन्दर्य बिगारिरहेको छ । अर्को विजयुलीको पोलमा मुठा मुठा तार झुण्डयाएको छ महानगरपालिकाले १५ दिन भित्र हटाउनु भनेको छ । परिस्थिती यस्तै हो देश यस्तै हो समयमा काम हुँदैन ।
वडा कार्यलयमा कर्मचारीहरु नहुने, कार्यालय समयमा उपस्थित नहुँदा सेवाग्राहीले झण्झट ब्योहोर्नु परेको पनि सुनिन्छ, तपाईको वडा कार्यलयमा त्यस्तो समस्या छ कि छैन ?
हाम्रो वडाका जनताको काममा ढिला सुस्ताई भयो भनेर अहिले सम्म सुनेको छैन । सेवाग्राहीलाई राम्रो सेवा दिएको महसुस मैले गरेको छु । यो कुरा हो हैन यहाँ आउनुभएका सेवाग्राहीलाई तपाई आफैले सोध्नुभयो भनेपनि थाहा हुन्छ । त्यो बाहेक कार्यालयका काममा हाम्रोमा समस्या छैन् । सचिव नहुने, अध्यक्ष नहुने, कार्यालय नखुल्ने जस्ता समस्या हाम्रो वडा कार्यलयमा छैन् । यस प्रकारको समस्या नओस् भनेर पनि हामी पूर्ण रुपमा जनताको सेवाको लागि कार्यालयमा सार्वजनिक छुट्टी बाहेक सधैभरि उपस्थिती हुने गरेको छौँ । कर्मचारी र हाम्रो उपस्थिती नभएका कारणले काम नभएको वा सर्वसाधारणले दुःख पाएको भन्ने गुनासो छैन् ।
१ नम्बर वडाको विकासको लागि के–के योजना अगाडी सार्नु भएको छ त ?
विकास भनेको के ? मानिसको चिन्तनको विकास कि, भौतिक संरचनाको विकास कि अब भौतिक संरचनाको विकास भन्नुहुन्छ भने हामी तल परेका छैनौ । काम गरिरहेका छौ यहाँको जनताको साथ पाईरहेका छौ । स्वास्थ्य र शिक्षाको सुधारमा हामीले बिषेश ध्यान दिएका छौं ।
तपाईको कार्यकालमा तपाईको वडालाई कस्तो बनाउने योजना रहेको छ ?
काम गर्नुपर्ने त धेरै छन् र गर्छौं भनेका छौं । त्यस मध्ये ‘वाकिङ हेरिटेज’भगवती वहालदेखि नागपोखरीसम्म विहान बेलुकी हिडने बाटो बनाउनु परयो भन्ने माग आईरहेको छ । यो अवधारणामा हामी छलफल गरिरहेका छौ । यसमा छलछफल गर्दा कसैले ठिक छ भन्नुभएको छ कसैले ठिक छैन भनिरहेको अवस्था छ । यसमा ठमेल बजार सागुरिदै गएको अवस्थामा त्यहाका पर्यटकलाई १ नम्वर वडामा तान्न सक्यो भने यो वडाले फाइदा लिन सक्छ भन्ने पनि सुझाब छ । यसका लागि स्थानीयले हुन्छ भन्ने बहुमत जुटाएमा त्यो कार्य अगाडि बढछ । अब यहाँका जनताले जे भन्नु हुन्छ त्यही अनुसार अगाडि चल्ने हो ।
वडामा आएर काम गरिरहदा मुख्य चुनौती चाहि के पाउनुभयो ?
समस्या भनेको धेरै प्रकारको हुन्छ जस्तो कानुनी जटिलता छन । काम गर्न लाई कानुनी समस्याका कारण बाधा उत्पन्न हुने गरेको छ । कर्मचारी वर्ग र जनप्रतिनिधि वर्गको त्यतिसाहो तालमेल छैन कि जस्तो लाग्छ । जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य हुने हो भने धेरै काम गर्न सकिन्छ । तालमेल नहुँदा भने अनुरुपको काम कहिले काहि रोकिएको हुन्छ । तर पनि समग्रमा एक बर्षे कार्यकाल सोचे अनुरुप नै छ यस मानेमा म सन्तुष्ट नै छु ।
तर अर्को दुखको कुरा हामीले हाम्रो आफनै वडा भवन बनाउन सकेका छैनौ । मेरो ईच्छा मेरै कार्यकालमा वडाको आफनै भवन बनोस भन्ने छ । वडाको भवन बनाउन बजेट छुटयाएको छ । बजेट हुँदाहुँदै ठेकेदारको झगडाका कारण वडा भवन बनाउने सपना अधुरै रहन्छ कि भन्ने छ । ठेकेदारको आन्तरिक किचलोका कारण हामी समस्यामा परेका छौ । वडाको आफनै भवन बनाउन स्रोत साधन सवै तयारी भएपनि गर्न सकिरहेको छैन । आशा गरौ नयाँ बर्षमा यो लक्ष्य पुरा होस भन्ने नै छ । मेरो उदेश्य वडालाई आफनै भवनमा सार्छु भन्ने छ, हेरौ समयले कत्तिको साथ दिन्छ ।