९ मंसिर २०८१, आइतबार 1732476779
Banner

शरणार्थी प्रकरणमा खुट्टा नकमाई सरकारले कारबाही गरोस् : माधवकुमार नेपाल

पर्सा। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको बताउनुभएको छ ।

समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो कार्यमा संलग्नलाई हदैसम्म कानुनी कारबाही हुनुपर्ने बताउनुभयो ।

‘आफ्नो देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाउन प्रलोभन दिनेहरु अपराधी मात्रै होइनन, राष्ट्रद्रोही पनि हुन,’ पुर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भन्नुभयो, ‘देशको नै मान, सम्मान र मर्यादामा आँच पुर्‍याउनेहरुलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुदैँन्, उनीहरुलाई हदैसम्म कारबाही गर्नुपर्छ ।’

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएकोमा सरकारलाइ धन्यवाद पनि ज्ञापन गर्नुभएको छ । ‘यस प्रकरणलाई लिएर वर्तमान सरकारले जुन तरिकाले काम गरिरहेको छ, यो कार्य र साहसिक कदमको सरहाना गर्दछु,’ उहाँले भन्नुभयो । उहाँले जनताको विश्वास जित्दै परिणाममुखी कार्य गर्न पनि सुझाव दिनुभएको छ ।

‘भुटानी शरणार्थी प्रकरणमा मात्र हैन, कुनै पनि भ्रष्टचारजन्य क्रियाकलापमा संलग्नलाई पक्राउ गरी दण्ड र सजाय दिनुपर्छ, यसमा जनता र हाम्रो पार्टीको साथ र समन्वय र साथ सहयोग रहने नै छ । हामी सरकारको भ्रष्टाचार विरोधी अभियानको साथमा छौं र परेको खण्डमा सहयोग पनि गर्नेछौं, ’उहाँले भन्नुभयो ।