८ मंसिर २०८१, शनिबार 1732419258
Banner

एमालेनिकट राष्ट्रिय युवा संघले गृहमन्त्रीलाई बुझायो ८ बुँदे ज्ञापनपत्र

काठमाडौं । एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने खेल भएको भन्दै छानबिनको माग राखेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ८ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

मानव तस्करीको समग्र पक्षमा नगई अपुरो अधुरो अनुसन्धान गर्ने र निर्दोष फसाउने योजनाका साथ काम भएको भन्दै युवा संघले उक्त अनुसन्धान र काम कारबाहीको छानबिन गर्न माग राखेर ८ बुँदे ज्ञापनपत्र बुझाएको हो ।

जवाफमा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले नक्कली भूटानी शरणार्थी प्रकरणमा सञ्चारमाध्यममा नाम आएकाहरुको थप अनुसन्धान भइरहेको बताउनुभयो । युवा संघले नक्कली भूटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्न आवश्यक भएको बताउँदै देशको नागरिकलाई अनागरिक बनाइ विदेश पठाइ सम्पती कमाउने काम सह्य नहुने बताउनु भयो । उहाँले राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रुपमा छानबिन प्रहरीलाई निर्देशन दिएको पनि बताउनु भयो ।

मुख्य तीन दलका शीर्ष नेताबीच यसअघि पटक पटक भएको भेटलाई लिएर आशंका पैदा भइरहेका बेला गृहमन्त्री श्रेष्ठले  एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवाले पनि निष्पक्ष रूपमा काम गर्न आफूलाई सहयोग गर्ने बचन दिइरहेको बताउनु भएको थियो ।