काठमाडौं । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ ।
नेकपा एमालेले गत सोमबार प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको अभिव्यक्तिप्रति असन्तुष्ट जनाउँदै नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो ।
बैठकमा एमाले सांसद भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकता र स्वाधीनताविरुद्ध अभिव्यक्ति दिएकाले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताए ।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार पनि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन अवरुद्ध गरेको थियो ।
एमाले नेता श्रेष्ठले प्रचण्डले प्रधानमन्त्री बन्न भारतको निर्देशन चाहिन्छ, भारतको सल्लाह सुझाव चाहिन्छ भन्ने आशयको अभिव्यक्ति दिएकाले उनी सो पदमा बस्न अयोग्य भएको दाबी गरे ।