९ मंसिर २०८१, आइतबार 1732497044
Banner

कौशीमा गयो सिंहदरबार देखिन्छ, बायाँतिर हेर्‍यो राजदरबार देखिन्छ तर खानेपानीको पीडा गाउँको भन्दा ठूलो छ : वडाध्यक्ष खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ को वडा कार्यालयबाट देशकै कार्यकारी अधिकार भएको सिंहदरबार र २३९ वर्ष शासन गरेको राजदरबार (हाल नारायणहिटी संग्राहलय) देखिन्छ । वीर शम्शेरको पालामा बनेको नेपालकै जेठो वीर अस्पताल, नेपालकै पर्यटकीय केन्द्रको रुपमा चिनिने ठमेललगायत ऐतिहासिक र पुरातात्विक भौतिक पूर्वाधार पनि यही वडामा छन् । जहाँ देशभरका मानिसहरु कुनै न कुनै रूपमा एक पटक पुगेकै हुन्छन् । त्यस्तै, आर्थिक रूपले हेर्ने हो भने देशकै ठूलो महाबौद्ध र असनजस्ता व्यापारिक केन्द्र पनि यहीँ छन् । यस्तो वडामा भइरहेका विकासका पूर्वाधार, सामाजिक तथा सांसकृतिक संरक्षणका कार्य के कसरी भइरहेका छ सूचना प्रेसले वडाध्यक्ष योगेश कुमार खड्गीसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनै वडाअध्यक्ष खड्गीसँग गरिएको कुराकानीको संपादित अंश :

तपाई निर्वाचित भएर आउनुभएपछि यो एक वर्षको अवधिमा के–कस्ता काम भए ?
एक वर्षमा मुख्यरुपमा यहाँका वर्षौंदेखि समस्याको रुपमा रहेका कान्तिपथ, च्यखाको ढल, कमलाक्षीको ढलमा केही सुधार भएको छ । तर पूर्णरुपमा समस्याको समाधान भएको छैन । कमाक्षी र भोटाहिटीको ढल निर्माणका लागि टेन्डर भइसकेको छ । यहाँको मुख्य समस्या ढल र खानेपानीकै समस्या हो । मेरो कार्यकाल अघि पनि यहाँको मुख्य समस्या ढल र पानीकै हो । यहाँ हामी आउनुभन्दा अघि पनि यस क्षेत्रको सांसदले कमलाक्षी र भोटाहिटी ढलको लागि छ्ट्याउनुभएको थियो । यस वर्ष असन असन, कमलाक्षी, भोटाहिटीलगायतको ढल निर्माण (व्यवस्थापन)का लागि महानगरबाट २ करोडभन्दा बढी बजेट छुटिएर टेन्डर भइसकेको अवस्था छ । वडाहरुको विकासका लागि हामीले सात भागमा वर्गीकरण गरेका छौँ । जसले विकास निर्माणमा सहयोग गर्छ ।

हामीले काठमाडौंमा विकासका नाममा काठमाडौंको पानी तान्ने मात्रै काम ग¥यौँ । अबको विकासमा हामीले हरेक ठाउँमा ढुंगा वा इँटा विच्याएर चोकमा इनारजस्तो सात फिट गहिरो खाडल खनेर त्यसमा कोइला, ढुंगा, रोडा राखेर रिचार्ज पोइन्ट बनाउँछौँ । जसमा सबैतिरबाट आउने पानी जम्मा भएर जमिनमा जान्छ ।

यहाँ कस्ता–कस्ता गुनासाहरु आउँछन् ?
यहाँका मुख्य समस्या भनेकै ढल र खानेपानीका समस्या हुन् र गुनासा पनि यसैमा केन्द्रित भएर आउँछन् । यसअघि २०४९ सालमा म यस वडाको वडा सदस्य थिएँ । खानेपानीको समस्या त्यतिखेरदेखिकै समस्या हो । तर, अहिलेसम्म समाधान हुन सकेको छैन । अहिले ८० सालमा वडाध्यक्ष भएको छु । समयावाधिका सिहाबले ३० वर्षसम्म खानेपानी समस्याको समाधान हुन हुन नसकेको देखिन्छ ।

यद्यपि खानेपानीका लागि काम भने नभएको होइन् । काम भइरहेका छन् । तर, विडम्बना भनौँ वा के भनौँ जस्ता ८ इन्चको पाइप हामीले तत्कालीन खानेपानी संस्थानसँग लिएर राखेका थियौँ । महाराजगञ्ज शाखाले जहाँबाट पानी वितरण हुने हो । यहाँचाहिँ महाराजगञ्ज शाखा र महाराजशाखाबाट यहाँका लागि पानी छाड्ने हो । ती दुवैलाई एकै ठाउँमा जोडेर पानी चलाउने वा खाने एरिया हुन् तलाक्षी, तरकारी बजार भब्लुलगायत क्षेत्र तर पछि महाराजगञ्ज शाखाले पानी नै छाडेन । तत्कालीन मयेर केशव स्थापितले ५९ सालतिर रत्नपार्कमा ट्यूबेल राखेर भए पनि यो एरियामा पानी खुवाउने प्रयास गर्नुभएको थियो । तर, सफल हुन सकेन ।

३० वर्षसम्म एउटै मुद्दामा हुनुहुन्छ, खानेपानीको समस्या कहिले हल हुन्छ ?
हो । मेलम्ची आएपछि खानेपानीको समस्या केही हल भएको थियो । मेलम्चीको पानी आउँदा यहाँ हप्ताको २ दिन आउथ्यो । त्यसले अलिकति सहजै भएको थियो । हामीलाई ५–६ महिना सहजै हुन्छ । तर, ६ महिना हामीले दुःख नै गर्नुपर्छ । त्योबेला (२०४९तिर) पनि मैले यस्तै मिडियामा बोलेको थिएँ । कौशीमा गयो भने राज्य सञ्चालन गर्ने सिंहदरबार देखिन्छ । बायाँतिर हे¥यो भने राजदरबार पनि देखिन्छ । तर, खानेपानीका लागि गाउँको भन्दा ठूलो पीडा छ ।

अहिलेसम्म समस्या समाधान हुन नसक्नुको कारण के हो ?
मुख्यतयाः यहाँ खानेपानीको आफ्नै मुहान छैन । कोर एरियामा के गर्दा पानी पुग्छ भन्ने कुरा खानेपानीले पनि ध्यान दिन सकेको छैन । हामीले डेलिगेसन र धर्ना दिने कार्यक्रम धेरै गर्यौँ। तर, समस्या समाधान हुन सकेन । हाम्रो वडा खानेपानीको चुहानमा पर्ने भएकाले पनि समस्या भोग्नुपरेको छ । तर, हामीले ५–महिना राम्रोसँग खानेपानी पाउँछौँ ।

खानेपानीका लागि अब कति वर्ष कुर्नुपर्छ वडावासीले ?

२१ इन्ची र १३ इन्चीको इन्टर कनेक्सनबाटबाट हामीकहाँ पानी आउँछ । तर, सहायक कनेक्सनबाट २१ इन्चीको पाइपबाट पानी दिइयो भने हामीकहाँ पानी आइपुग्छ । फेरि अर्को कुरा पोखरीमा ११देखि १३ फिट पानी भए हामीकहाँ पानी आइपुग्छ । तर, त्यहाँ त्यो भन्दा कम पानी आइपुगे हामीकहाँ पानी आइपुग्दैन ।

तपाईको वडामा कस्ता–कस्ता समस्या आउँछन् ?
मुख्यतयाः यहाँ साँध सीमाना, दाजुभाइबीचको मनमुटावजस्ता समस्या आउने गरेका छन् । त्यस्ता केशमा हामीले वडाबाटै समाधान गरेर पठाएका छौँ । हाम्रोमा घर बनाउँदा मेरो यति मिच्यो, ढल हाल्योजस्ता मुद्दा आउँछन् । हामीले उहाँहरुलाई मुद्दा गर्दा हुने समस्या र खर्चबारे जानकार गराएर सहमत गराएर मिलाउने गराएका छौँ । यो एक वर्षको अवधिमा २० वटा जति केश आए । तर, धनसम्पतीका लागि दाजुभाइबीचको मनमुटावका कारण लामो समयसम्म बोलचाल नहुने कहीँकतै बाबुआमाको काजकिरिया पनि फाल्टै गर्न खोज्नेजस्ता घटना पनि पाइन्छन् । फेरि यस्ता समस्या मुख्यतयाः पढेलेखेका र शिक्षितहरुमै पनि देखिन्छन् ।
वडा नम्बर २७ को मुख्य विशेषता के हो ?
हाम्रो वडाको मुख्य विशेषता भनेको असनबजार नै हो । यहाँ जन्मदेखि मृत्यु संस्कारका लागि आवश्यक सामग्री र नुनदेखि सुनसम्म पाइन्छ । नेपालको जेठो वीर हस्पिटल, निर्वाचन आयोगको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, चेम्बर केन्द्र, ललित भवनकला विद्यालय, पर्यटकीयस्थल ठमेललगायत केन्द्र र स्थल यहाँ पर्छन् । कोर एरियाको विकास भनेको ढल नै हो । अहिलेसम्म ढलको समस्या नहुनुको मुख्य कारण के हो भने अस्थायी ढलको समस्या नै हो । यहाँ हामीले ३/३ महिनामा ढल सफा गर्नुपर्छ । जसका कारण जनताले तिरेको कर सही रुपले सदुपयोग नै भएन । मैले मेयेरसाबलाई पनि महाराजगञ्जदेखि बागमतीसम्म ४२ इन्चको ढल बनाएर ल्याएमा कोर एरियाको सबै ढल मिसाएपछि यहाँ ढलको समस्या सधैँका लागि अन्त्य हुन्छ । यहाँ ढलको समस्या निराकरण गर्ने हो भने सबैभन्दा पहिला कोर एरियाको ढलको समस्या समाधान गर्नुपर्छ । अनि मात्रै जनताले तिरेको करको उपयोग हुन्छ ।

२७ नम्बर वडालाई कस्तो बनाउने योजना छ ?
मेरो कार्यकालमा ढल समस्याको समाधान गर्छु भन्ने हो । र सम्भवः भएसम्म खानेपानीको पनि समस्या समाधान गर्ने नै मेरो मुख्य उद्देश्य र योजना हो । म यिनैमा केन्द्रित भएर लागिरहेको छु । यहाँ कमलाक्षी, असन, महाबौद्ध, वीर हस्पिटल र ठमेलको ढल समाधान गर्ने मेरो मुख्य लक्ष्य छ । यसका लागि कोर एरिया एक जुट हुनुपर्छ । कोर एरियाको ढल दुई किसिमले गइरहेको छ । एउटा वडाध्यक्षले गरेर मात्रै सम्भव हुँदैन । ढल समस्या समाधानका लागि कोर एरिया एक ठाउँ नहुने हो भने समस्या समाधान गर्न गाह्रो छ । अहिले यसतर्फभन्दा पनि ठूलठूला विल्डिङ बन्ने क्रम जारी छ । पूर्वाधारका हिसाबले हेर्ने हो भने राणाकालीन ढलहरु यतिखेर मजबुत र दीर्घकालीन देखिन्छन् । मैले आफ्नो कार्यकालमा ढलको समस्या समाधान गर्ने लक्ष्य लिएको छु । अब आउने वडाध्यक्षको नयाँ एजेन्डा होऊन् भन्ने मेरो चाहना छ ।
कोर एरियाको ढल समस्या समाधानका लागि अन्य वडाहरुसँग सहकार्य हुँदैछ ?
केही वडाहरुसँग भइरहेको छ । तर,सबै वडाध्यक्षज्यूहरुले यस विषयलाई गहन रुपले लिइरहनुभएको छैन । तर, ढल समस्याबारे महानगरमा हाम्रो वडासहित केही वडाले जोडतोडका साथ उठान गरेका छौँ ।
तपाईंको वडा केन्द्रकै व्यापारिक केन्द्र र केन्द्रीय सरकारका केन्द्रीय कार्यालय भएको वडा हो । यस्ता कार्यालय हुँदा वडामा के–कस्ता समस्या आउने गर्छन् ?
व्यापारिक एरिया भएका नाताले यहाँ पार्किङको समस्या आउने गर्छ । अन्य समस्या भने व्यापारीहरुले लिएर आउने गरेका छैनन् । केन्द्रीय कार्यालय भएकै भरमा थप अन्य जिम्मेवारी केही पनि आउँदैनन् । एउटा प्राउड मात्रै फिल गर्न सकिन्छ । त्यो भन्दा अरु केही दायित्व र जिम्मेवारी हुँदैनन् ।