९ कार्तिक २०८१, शुक्रबार 1729886974
Banner

मेलम्चीले बाटो भत्काउँछ तर बनाउँदैन, दोष वडा र पालिकालाई आउँछ : शम्भु भट्टराई (बूनपा–१२ वडाध्यक्ष)

काठमाडौं । शम्भु भट्टराई बूढानीलकण्ठ नगरपालिका १२ का वडाध्यक्ष हुन् । २०७४ सालमा भएको स्थनीय तहको निर्वाचनबाट निर्वाचित भएका उनी २०७९को स्थानीय तहको निर्वाचनमार्फत् उनी दोस्रो पटक निर्वाचित भई वडावासीको सेवामा तल्लीन छन् ।

दोस्रो कार्यकालका लागि सो पदमा निर्वाचित भएसँगै उनले सेवा प्रवाहलाई केन्द्र बनाएर अघि बढे । साथै, अघिल्लो कार्यकालमा पूरा नभएका अधुरा कामलाई निरन्तरता दिए । बालकुमारी मन्दिरलाई सांस्कृतिक संरक्षणका रुपमा प्राथमिकतामा राखी कपनका अन्य पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि प्राथमिकतामा राखी अघि बढेका छन् ।

निजी विद्यालय ८, मन्टेश्वरी पाँच र एक सामुदायिक विद्यालय रहेको यस वडाको सामुदायिक विद्यालयलाई राम्रो बनाउनमा लागे ।
प्रदेश र नगरपालिका र वडाले पैसा हालेर सामुदायिक विद्यालयलाई नमूना विद्यालय बनाउने प्रयत्न भइरहेको बताउँदै उनले विगतमा आधारभूत तहसम्म अध्ययन भएको विद्यालयमा हाल माध्यमिक तहसम्म पढाइ हुने बताए ।

‘विगतमा एक सय ३० विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालयमा हाल पाँच सय पैसठ्ठी जना विद्यार्थी अध्ययनरत छन्,’ उनले भने ।

नगरपालिकाले २०८० लाई शैक्षिक उन्नयन वर्ष भनेर घोषणा गरेको बताउँदै उनले संस्थागत विद्यालयमा अध्ययन गरेको विद्यार्थीभन्दा सामुदायिक विद्यालयमा पढेको विद्यार्थी अब्बल हुनुपर्छ किसिमले कार्य भइरहेको उनको भनाइ छ ।
खानेपानीका नाममा पूर्वाधार विगार्ने मात्रै काम गरेको भन्दै वडाध्यक्ष मट्टराईले मेलम्ची खानेपानी परियोजनाको कामप्रति आपत्ति जनाए ।

‘मेलम्ची खानेपानी परियोजनाले खानेपानी बनाउने नाममा बाटो भत्काउँछ । तर, भत्काएको बाटो बनाउँदैन । मेलम्चीले बनाएको बाटो कसले बनाउने भन्ने स्पष्ट छैन । विग्रिएको बाटोको अपजस वडा तथा नगरपालिकाले लिनुपर्छ । खानेपानीका नाममा मेलम्चीले भौतिक पूर्वाधारमा अराजकता नै मच्चाएको छ । उनले भने, ‘जसका कारण हामी पीडित छौँ ।’

मेलम्ची खानेपानी निर्माणका शारदाप्रसाद अधिकारीले ठेक्का लिएको बताउँदै उनले भने, ‘ मेलम्ची खानेपानी निर्माणका लागि २०७४ शारदाप्रसाद अधिकारीले ठेक्का लिएका छन् । तर, अहिलेसम्म काम पूरा भएको छैन ।’

राज्यको कमजोरीका कारण आज त्यसको दोष वडा र नगरपालिकाले भोग्नुपरेको उनको भनाइ छ । बूनपा १२ का ९० प्रतिशत घरधुरीमा खानेपानी पुगेको भट्टराईले जानकारी दिए ।

खहरे खोल्सा उत्खन्नका नाममा काठमाडौं महानगरपालिकाले आतंक मच्चाएको उनको आरोप छ । महानगरपालिका साततलेदेखि आनी गुम्बासम्मको खहरे उत्खनन गर्दै छ । तत्काल उत्खनन गरिएका खोलाको व्यवस्थापन हुन नसक्दा सोबाट सिर्जना हुनसक्ने समस्याप्रति आँकलन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उद्यपि आपूmहरु प्राकृतिक रुपमा बहने खोला प्राकृतिक रुपमै बहन पाउनुपर्छ भन्नेमा पक्षमा रहेको उनको भनाइ थियो ।

खोला ओपन हुनुपर्छ भन्ने कुरामा स्थानीयको सहमति रहे पनि सर्वप्रथम व्यवस्थापनको योजना बनाएर अघि बढ्नुपर्ने उनीहरुको भनाइ रहेको उनले बताए ।

उनले भने, ‘२०५९ सालमा धोवीखोला करिडोर खोलिएको अहिलेसम्म अझैसम्म जग्गामोहीले मुआब्जा पाएका छैनन् ।’
उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपश्चात् उनकै पहलमा यस वडामा शहरी स्वास्थ्यकेन्द्र स्थापना भएको छ । जहाँबाट ज्येष्ठ नागरिकले सेवा लिइरहेका छन् ।

वडाले असक्तहरुका लागि सामाजिक सुरक्षा भत्ता घरमै वितरण गर्ने गरेको छ । वडाले एक सार्वजनिक भवन बनाएको छ । यस भवनलाई क्रियापुत्री भवन भनिए पनि आवश्यकताका आधारमा प्रयोग हुँदै आएको छ । मुख्यतयाः यस भवनमा ज्येष्ठ नागरिकको रिफ्रेसमेन्टका लागि भजन कीर्तनको व्यवस्था मिलाएको छ । जहाँ वृद्धवृद्धाहरु कम्तीमा १÷२ बजेपछि त्यहाँ गएर हरेराम गाउने गर्छन् भने हरेक विहान भजन हुन्छ ।

संघीयता आएसँगै सिंहदरबार वडावडामा पुग्यो भनिए पनि वडालाई आफूखुसी कुनै पनि काम गर्ने अधिकार नरहेको उनले बताए ।

‘सिंहदरबारको अधिकार वडामा आएको छ भन्ने भान आममानिसमा छ । तर, वडालाई आफूखुसी गर्ने कुनै पनि अधिकार छैन । नगरको अधिकारविना वडा हात बाँधेजत्तिकै हुन्छ,’ उनले भने, ‘तर, अपजस वडाध्यक्षले लिनुपर्छ ।’

बूनपा १२ बाट विदेश जानका लागि दिनमा कम्तीमा १० जनाको सिफारिस हुने गरेको बताउँदै उनले यहीँ अवस्था रहे केही वर्षमा नेपालमा युवा नै नभेटिने चिन्ता व्यक्त गरे । उनले भने, ‘म वडाध्यक्षको हैसियतले दिनमा १० जनाभन्दा बढीलाई विदेश जानका लागि सिफारिसि गर्छु । यस्तै अवस्थ अन्य वडामा पनि होला । संघ र प्रदेशले युवालाई स्वदेशमै रोक्न के गर्नुपर्छ सोतर्फ सोच्नुपर्छ ।’