भरतपुर (चितवन) । पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यालयको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका । अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा अझ कतिपय बालबालिका त भोको पेटमा नै विद्यालय आउँछन् । विद्यालयमा खाजा खान पाइने भएकैले विद्यालय आउने बालबालिका विद्यालयमा सरकारले बजेट छुट्याएको दिवा खाजासमेत रोकिँदा विद्यालय आउनै छाडेका छन् ।
कक्षा ३ मा अध्ययनरत मनिषा चेपाङ खाली खुट्टा स्कुल पुग्ने गर्नुभएको छ । उहाँको पोसाक पनि थोत्रिइसकेको छ । बुवा आमासँग पैसा नहुँदा सधैँ खाली खुट्टा विद्यालय आउनुपरेको उहाँले सुनाउनुभयो । “चप्पल, जुत्ता लगाउने मन त छ नि”, उहाँले भन्नुभयो, “बुवा आमासँग पैसा छैन, कहाँबाट चप्पल लगाउन पाउनु ।” उहाँले धेरै पढ्ने मन हुँदाहुँदै पनि घरको अवस्थाले सोचेअनुसार पढ्न नसकेको बताउनुभयो ।
कक्षा ३ मै पढ्ने उर्मिला चेपाङ कक्षाकोठामा दुई वर्षको भाइलाई काखमा राखेर पढिरहनुभएको छ । उहाँको ध्यान पढाइमा भन्दा भाइतिर बढी छ । घरी किताब त घरी काखमा निदाइरहेको भाइको मुखमा हेर्दै पढिरहनुभएको छ उहाँ । बाआमा काममा गएकाले घरमा हेर्ने कोही नभएपछि भाइलाई पनि विद्यालय बोकेर आएको उहाँले बताउनुभयो । उहाँका दाइ र बहिनी पनि यसै स्कुलमा अध्ययनरत छन् । तीनै जना अध्ययन गर्ने एउटै कोठा र बेञ्च पनि एउटै छ । घरमा भात नपाक्दा चारै जना भोको पेटमै विद्यालय आएको उर्मिलाले सुनाउनुभयो ।
कक्षामा रहेका विद्यार्थी कोही भोकै छन्, कोही नाङ्गै, कतिको खुट्टा खाली छ । विद्यालय पोसाकसमेत नभएका कतिपय बालबालिका थुरथुर काँपेरै पढिरहेका छन् । कुनै पनि विद्यार्थीसँग कपी, किताब बोक्ने झोला छैन । यो विद्यालयमा सरकारले खुवाउने गरेको दिवा खाजासमेत रोकिएको छ । शिक्षक रामलाल चेपाङका अनुसार करिब डेढ महिनादेखि जिङ्लाउका विद्यार्थीले खाजा खान पाएका छैनन् ।
यो विद्यालय नान्दरमा रहेको आधारभूत विद्यालयको शाखा विद्यालय हो । दूरीका कारण बालबालिकालाई विद्यालय पुग्नै कठिन भएपछि कालिका–१० नान्दरस्थित राष्ट्रिय आधारभूत विद्यालयलाई दुई ठाउँमा विभाजन गरेर कक्षा सञ्चालन गर्दा विद्यार्थी र शिक्षक पनि बाँडिएका हुन् । विसं २०७० देखि सञ्चालनमा आएको जिङ्लाउमा मात्रै ३५ विद्यार्थी भएका छन् । तर नियमित विद्यालय आउनेको सङ्ख्या भने १५ देखि २५ जनासम्म हुने शिक्षक रामलाल चेपाङले बताउनुभयो । विद्यालयमा उहाँ मात्रै एक जना शिक्षक हुनुहुन्छ । उहाँले तीन वटै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउने गर्नुभएको छ ।
नान्दरमा पढ्नेहरूका लागि भने नियमित खाजा खुवाउने काम भइरहेको छ । जिङ्लाउका विद्यार्थी दिवा खाजाबाट वञ्चित भएको विषयबारे विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार सबै बेखबर छन् ।
विद्यालयका प्रधानाध्यापक खुमराज भट्ट भने दिवा खाजा नरोकिएको दाबी गर्नुभयो । दुई तिरै निगरानी गरिरहेको जनाउँदै उहाँले अहिलेसम्म दिवा खाजा नरोकिएको बताउनुभयो । “अभिभावकलाई खाजाको व्यवस्था गर्नु, सरकारी पैसा विद्यालयको खातामा जम्मा भएको छ । पछि विद्यार्थीको हाजिरी हेरेर पैसा दिन्छु भनेको छु”, उहाँले भन्नुभयो । तर शिक्षक चेपाङ भने विद्यार्थीलाई खाजा खुवाउन सक्ने क्षमता यहाँका कुनै पनि अभिभावकसँग नहुँदा खाजा दिनुको विकल्प नभएको बताउनुभयो । दिवा खाजाको प्रबन्ध नहुँदा त्यसको असर विद्यार्थीमा परेको उहाँको भनाइ छ ।
स्थानीय गोपाल चेपाङले झण्डै दुई महिनादेखि यहाँका बालबालिकाले खाजा खान नपाएको बताउनुभयो । उहाँले विकट क्षेत्रको स्कुल भएका कारण सरकारले दिएको सेवाबाट पनि यहाँका बालबालिका वञ्चित हुनुपरेको गुनासो गर्नुभयो ।
कालिका –१० वडाध्यक्ष नरजङ्ग प्रजाले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई निर्देशन दिइसकेको जनाउँदै बालबालिकाको खाजा कार्यक्रम नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो, “चेपाङ बालबालिकाको खाजा रोक्ने अधिकार कसैलाई पनि छैन, विद्यालयमा कमी–कमजोरी भएको भए कारबाही हुन्छ ।”
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जिङ्लाउको समस्याबारे नगरपालिकाको ध्यानाकर्षण भएको बताउनुभयो । दिवा खाजाको विषयमा के कारणले रोकिएको हो भन्ने पत्ता लगाएर तत्काल सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँले पालिकामा ‘उपमेयरसँग बालबालिका’ शीर्षकको कार्यक्रम लागू भइरहेको जनाउँदै बेला–बेलामा शैक्षिक सामग्री वितरण गरिरहेको जानकारी दिनुभयो । रासस