८ मंसिर २०८१, शनिबार 1732350564
समाचार

आगामी शैक्षिक सत्रदेखि १०० शैयाका अस्पतालमा नर्सिङको पढाई हुने स्वास्थ्य मन्त्री बस्नेतको दाबी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अगामी शैक्षिक सत्रदेखि १०० देखि ३०० शैयाका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुने दाबी गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षाको विकासले देशमा रोजगारीको ढोका खुल्ने बताएका हुन ।

मन्त्री बस्नेतले भने, ‘ आउँदो शैक्षिक सत्रदेखि देशका सबै ठूला अस्पतालमा नर्सिङ र प्यारामेडिक्सको पढाई सुरु हुन्छ । यो काम गर्न सरकार तर्किने र पर्खेने वाला छैन । ’ स्वास्थ्य मन्त्रालयले १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एमविविएसको पढाई गर्ने निर्णय गरेर मन्त्रीपरिषद्मा पठाई सकेको जानकारी दिदे मन्त्री बस्नेतले यसका बिषयमा प्रधानमन्त्री सहित सिंगो मन्त्रीपरिषद् सकारात्मक भएकाले यसका बिषयमा चाडै टुंगोमा पुग्न लागेको दावी गरे । ‘ चिकित्सा शिक्षा आयोगसँग पनि यसका बिषयमा छलफल भइरहेको छ । सबै पक्ष सकारात्मक छ । चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृया अगाडि बढेको छ । ’ मन्त्री बस्नेतले भने, ‘ अब अस्पतालहरुले विरामीको उपचार मात्र गर्ने होइन्, चिकित्सा क्षेत्रको जनशक्ति पनि उत्पादन गर्नु पर्छ । ’ चिकित्सा शिक्षा ऐनका कारण ठूलो संख्यामा चिकित्सा शिक्षा पढ्न चाहने नेपालीले स्वदेशमा पढ्न नपाएको बताउदै मन्त्री बस्नेतले नेपालमै चिकित्सा शिक्षा अध्ययन गर्ने प्रसस्त अवसरहरु प्रदान गर्न सरकारले पहल गरिरहेको दाबी गरे । चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर अवको पाँच वर्षमा देशमा चिकित्सक र नर्सहरुको अभाव हुने मन्त्री बस्नेतको भनाई छ ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.युवानिधि बसौलाले बार्षिक विवरण प्रस्तुत गर्दै ३०० शैयाको अस्पताल बनाउने घोषणा सरकारले गरेको भए पनि अहिलेसम्म १०० शैयामै सञ्चालनमा रहेको जानकारी दिदै पछिल्ला दिनमा अस्पतालले आफ्नो सेवा सुधारमा बिशेष ध्यान दिएको बताए । २४ घण्टा एम्बुलेन्स सेवा, अस्पतालको आफ्नै २४ घण्टा फार्मेसी सेवा सञ्चालनदेखि ऐलो फिबरको सेवासम्म बिस्तार गरिएको बताए ।

एचआईभीको औषधिदेखि सर्पदंश, कोभिड, रेविजलगायतका औषधिसहित स्वास्थ्य सेवा दिँदै आएको अस्पतालको गुणस्तरीय सेवा प्रदान र विस्तारमा ध्यान दिने उनको भनाइ छ । टेकुमा निर्देशक बनेर आएको दुई महिनामात्र पुगेको जानकारी दिँदै उनले गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिने बताए ।

शैक्षिक कार्यक्रमअनुसार स्टाफ नर्ससहितको कक्षा सञ्चालन गर्ने, विदेश जाने नेपालीलाई एउटै केन्द्रबाट भ्याक्सिन लगाउनेगरी काम गरिने जानकारी दिएका उनले औषधि उपलब्ध गराउने विषयमा पनि ध्यान दिएको जानकारी दिए । त्यस्तै नर्सिङ प्रशासक रोसनलक्ष्मी तुईतुईले अस्पतालले आउदो शैक्षिक सत्रदेखि नर्सिङको पढाई गर्ने गरि तयारी गरिएको जानकारी दिदै सरकारले अनुमती दिए पढाई गर्न सकिने दावी गरिन । कार्यक्रममा मन्त्री बस्नेतले अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेलाई सम्मान गरेका थिए । कार्यक्रममा योजना आयोगका सदस्य डा. आरपी बिच्छा, स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटा, न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत सहित स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र अस्पतालका निर्देशकहरु सहभागी थिए ।