९ मंसिर २०८१, आइतबार 1732484829
Banner

नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्षको पदभार ग्रहण बेलुकी ५ बजे

काठमाडौँ । नवनिर्वाचित राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको पदभार ग्रहण बेलुकी ५ बजे हुने भएको छ । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

बैठकको अध्यक्षता गरेकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी युवराज शर्माले १७ मत पाए । राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन् । ५६ जना सांसद बैठकमा उपस्थित थिए ।

दाहाललाई माओवादीका सांसद गोपी बहादुर अछामीले अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए भने एमालेका सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद डा.बेदुराम भुसाल र जनता समाजवादीका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।