काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन् ।
दाहाल आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३९ मत प्राप्त गर्दा कांग्रेसका उमेदवार युवराज शर्माले १७ मत पाएका थिए । दाहालले सत्ता साझेदार चार दलको साथ पाएका थिए । ५६ जना सांसद बैठकमा उपस्थित थिए ।
दाहाललाई माओवादीका सांसद गोपी बहादुर अछामीले अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए भने एमालेका सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद डा।बेदुराम भुसाल र जनता समाजवादीका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए ।