काठमाडौँ । बजेट भाषण हुने संसदको संयुक्त बैठक २ घण्टा सारिएको छ ।
यस अघि आज अपराह्न १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक अब ३ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । संसद बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि संसदमा बजेट भाषण हुने छ ।
सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यादेश टुंगाउन केही समय लाग्ने भएपछि बैठक सारिएको हो ।
सोमबार राति कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बसेर कार्यादेशमा भएको सहमति अनुमोदन गरेको छ र तीन बजेसम्म संसदीय समितिमा बस्नेको नाम दिने बताएको छ ।
आजै बजेट भाषणपछि बस्ने प्रतिनिधि सभाको बैठकले संसदीय छानबिन समिति गठन गर्ने छ ।