३ कार्तिक २०८१, शनिबार 1729330464
समाचार

ऊर्जामन्त्री दीपक खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ-ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल-भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपाल–भारतसम्बन्ध प्रगाढ र जनस्तसम्म रहेको बताउनुभयो। उहाँले नेपालको सुख्खा महिनामा भारतबाट प्राप्त विद्युत्ले यहाँको विद्युत् अभावलाई कम गर्न सघाउ पु¥याएकामा राजदूतलाई धन्यवाद दिनुभयो।

भेटमा मन्त्री खड्काले वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पु¥याएको बताउनुभयो । उहाँले भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।

नेपालबाट भारतीय प्रसारण लाइन प्रयोग गरी पहिलो पटक यहाँ उत्पादित विद्युत् बङ्गलादेश निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच यही जुलाई २८ मा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएकाले मन्त्री खड्काले राजदूतावासलाई निमन्त्रणसमेत दिनुभयो ।

राजदूत श्रीवास्तवले मन्त्री खड्कालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दैै पारस्परिक सहयोग अभिवृद्धिका लागि भारत सरकार तयार रहेको बताउनुभएको थियो। उहाँले विद्युत् व्यापार, थप प्रसारण लाइनको विकास, हरित हाइड्रोजन उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।