काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बाढी पहिरोमा सबैभन्दा बढी कृषि क्षेत्र सङ्कटमा परेको बताएका छन् । सोमबार कृषि विभागमा ४४ औँ विश्व खाद्य दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अधिकारीले सरकारले ४३ जिल्ला प्राकृतिक सङ्कट घोषणा गरेको जिल्लामा सबैभन्दा बढी कृषि क्षेत्र परेको बताएका हुन् ।
बाढी पहिरोमा परेका किसानको समस्यालाई सम्बोधन गर्ने बताएका छन् । बाढी पहिरोले पुर्याएको क्षतिको विवरणलाई मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको समेत मन्त्री अधिकारीले बताए । देशभर ६५ प्रतिशत जनता कृषिमा आबद्ध भए पनि खाद्यान्न परिपूर्तिका लागि आयात गर्नुपरेको उनले बताए । पछिल्लो पटक बाढी पहिरोका कारण कृषि उपजमा करिब ६ अर्ब बराबरको क्षति पुगेको मन्त्री अधिकारीले बताए ।