८ कार्तिक २०८१, बिहिबार 1729808215
Banner

स्वास्थ्यमन्त्री पौडेलका १०० दिन : समिति गठनमै व्यस्त

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १०० दिनको अवधिमा गरेका कामहरुको विवरण बिहीबार सार्वजनिक गरेका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले १६ विभिन्न क्षेत्रमा केन्द्रित रही गरिएका कामबारे विस्तृत जानकारी दिए, जसमा विभिन्न विषयमा अध्ययनका लागि गरिएका समिति गठन र मन्त्रालयका नियमित कामका सूची छन् । जनस्वास्थ्य समितिलाई सक्रिय बनाउने, स्वास्थ्य जनशक्तिको उत्पादन बढाउने र उनीहरूको सीप तथा दक्षताको अधिकतम उपयोग गर्ने काम प्राथमिकतामा परेको मन्त्री पौडेलले बताए । राष्ट्रिय जनस्वास्थ्य समितिको दोस्रो बैठकबाट जनस्वास्थ्यका प्राथमिकताका आधारमा ८ वटा उपसमितिको गठन गरिएको उनले जानकारी दिए । त्यसैगरी स्वास्थ्य जनशक्ति उत्पादनको लागि शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद् र स्वास्थ्य मन्त्रालयका स्वास्थ्य समन्वय महाशाखाको संयोजकत्वमा कार्यदल गठन भएको बताए । गैरआवासीय नेपाली संघसँगको सहकार्यमा विश्वभर प्रचलित असल अभ्यासलाई नेपाली परिवेश अनुकूल बनाउन डा. प्रकाश थपलियाको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष डा. लोचन कार्कीको अध्यक्षतामा गठित समितिले प्रोत्साहनसम्बन्धी प्रतिवेदन बुझाइसकेको बताए । त्यसैगरी, राष्ट्रिय न्यूरो उपचार केन्द्र स्थापनाको सम्भाव्यता अध्ययनका लागि डा. गोपाल सेढाईंको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन डा. शम्भु आचार्यको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलले बीमा कार्यक्रमको दायरा विस्तार र पुनर्संरचनाको खाका तयार पारिरहेको मन्त्री पौडेलले बताए । आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिलाई आधुनिक चिकित्सा प्रणालीसँग एकीकृत गर्न छुट्टै निर्देशक एवं प्राविधिक कार्यसमिति गठन गरिएको मन्त्रालयले जनाएको छ । अर्थविद् डा. पोषराज पाण्डेको संयोजकत्वमा औषधिको मूल्य नीति सुझाव समिति गठन गरिएको छ । समितिले औषधिको स्वतःस्फूर्त मूल्य कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्यका साथ काम गर्ने मन्त्री पौडेलले बताए ।

यसैगरी औजार उपकरणको सदुपयोग एवं ब्यवस्थापनका लागि योजना तयार गर्न उच्चस्तरीय कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पौडेलले आफूले सोचेजस्तो परिणाम भने नआएको स्वीकार गरे । ‘पदभार ग्रहण गरेदेखि नै स्वास्थ्यका केही कुराहरू बुझ्नुपर्ने थियो । कार्ययोजना बनाउनुपर्ने थियो, नीतिगत स्वीकृतका लागि तयारी गर्नुपर्ने थियो’, मन्त्री पौडेलले भने, ‘विषय बुझ्न केही समय लाग्यो । अबका तीन महिनापछि स्वास्थ्यका धेरै कुरामा सुधार पाउनुहुनेछ ।’ स्वास्थ्य सुधारका कतिपय विषयलाई अन्तिम रुप दिन नसकेको समेत उनले बताए । ‘कतिपय विषय हामीले मात्रै स्वीकृत गरेर नहुने रहेछ । सरकारका अन्य पक्षले पनि स्वीकृत दिर्नुपर्ने रहेछ’, उनले भने, ‘कतिपय कुरा कोशिस गरेर पनि गर्न सकिएको छैन ।’ अन्य निकायको सहयोग प्राप्त हुनासाथ तयार पारिएका योजनालाई कार्यान्वयनमा लैजाने उनको दाबी छ । ‘सय दिनको बीचमा गरिएको केही कामले स्वास्थ्य क्षेत्रमा सुधारको संकेत दिएको छ’, मन्त्री पौडेलले भने, ‘आगामी दिनमा ल्याउने योजना र कार्यावन्यन गर्ने कामबाट स्वास्थ्य क्षेत्र सुधारिएको महसुस गराउनेछु ।’

जलन उपचारदेखि ओपीडी विस्तारसम्म

मन्त्री पौडेलले विशेषगरी सघन जलन उपचार सेवा निःशुल्क गर्नेदेखि संघीय अस्पतालहरूमा दुई सिफ्ट ओपीडी सेवा विस्तारसम्मका महत्वपूर्ण निर्णय कार्यान्वयनमा ल्याएको बताएका छन् । वीर अस्पतालमा १५ शय्याको जलन उपचार वार्ड पुनः सञ्चालनमा ल्याई विपन्नका लागि निःशुल्क सेवा सुरु गरेको छ । सातै प्रदेशका प्रमुख अस्पतालमा आर्थिक रूपमा कमजोर नागरिकका लागि कस्मेटिक बाहेकको सघन जलन उपचार निःशुल्क गरिएको मन्त्रीले सार्वजानिक गरेको विवरणमा उल्लेख छ । त्यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नारायणी अस्पताल वीरगञ्ज, कीर्तिपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल नेपालगञ्ज, सुर्खेत प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पताल जलन सेवा विस्तार गरिएको छ ।समायोजनका क्रममा फाजिलमा परेका र दरबन्दी नभएको तहमा समायोजन भएका कर्मचारीहरूको व्यवस्थापन सुरू गरिएको मन्त्रीले बताए । ‘एम.डी./एम.एस. गरेका स्थानीय तहका चिकित्सकहरूलाई प्रादेशिक अस्पतालहरूमा काममा लगाइएको छ’, मन्त्री पौडेलले भने, ‘सबै संघीय अस्पतालहरूमा दुई सिफ्ट ओपीडी सेवा र टोकन प्रणाली विस्तार गरिएको छ ।’

‘आगामी पुस्ता निरोगी पुस्ता’ अभियान अन्तर्गत जीवनशैली प्रवद्र्धन, क्यान्सर र नसर्ने रोगको स्क्रिनिङ तथा सडक दुर्घटना न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिएको बताए । १०–१४ वर्षका सबै किशोरीहरूलाई निःशुल्क एचपीभी खोप दिने कार्ययोजना तयार पारिएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशमा क्यान्सर रोग उपचार सेवा विस्तार गरिएको मन्त्री पौडेलले जानकारी दिए । भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट परीक्षण गराउने व्यवस्था मिलाइएको छ । हरेक प्रदेशमा कम्तीमा एक अस्पतालबाट मुटु रोग उपचार सेवा सुरु गर्ने योजना अनुरूप मधेश र गण्डकी प्रदेशमा सेवा सुरू भएको उनले बताए । संघीय अस्पतालका उपकरणहरूको मर्मतसम्भारका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरी हालसम्म ४०० भन्दा बढी उपकरणको मर्मत गरिएको उनले बताए । यसैगरी, मन्त्रालयको पहलमा यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका करिब ५२ हजार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई जिल्लाभित्र निःशुल्क यातायात सेवा दिने व्यवस्था गरेको प्रगति विवरणमा उल्लेख छ । ‘हामीले १६ वटा महत्वपूर्ण क्षेत्रहरूमा योजनाबद्ध रूपमा काम गरेका छौं’, मन्त्री पौडेलले भने, ‘यसले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने विश्वास लिएका छौं ।’