१ मंसिर २०८१, शनिबार 1731763524
मनोरञ्जन

थारु महिलाले काठमाडौंमा मनाए समाचकेवा पर्व

काठमाडौं । काठमाडौंमा बसोबास गर्ने थारु समुदायले समाचकेवा पर्व मनाएका छन् । शनिबार ‘थारू भसा साहित्य केन्द्र नेपाल’ले आयोजनामा थारु समुदायका महिलाहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् । थारु समुदायका दिदी–बहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६८ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु भसा साहित्य केन्द्रके अध्यक्ष भुलाई चौधरीले बताए । ‘हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका हौं । तर सरकारले हाम्रो यो पर्वलाई कुनै मान्‍यता दिएको छै न। यो तराईको संस्कृतिमाथिको अपमान हो,’ उनले भने । उनले अहिले सरकारले दसैं, तिहार र छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारुलगायत अन्य समुदायले मनाए पनि सरकारले बेवास्ता परेको गुनासो गरे ।

उनले भने, ‘सरकारले दसैं, तिहार, छठमा विदा दिए पनि थारुको संस्कृतिलाई वास्तै गरेन । खाली सभा समारोहमा ड्रेस देखाउनको लागि मात्र प्रयोग गरिरह्‍यो ।’ थारु समुदायसँगै तराइमा अन्‍य समुदायहरुले समाचकेवा थारुहरुसँगै सिकेर मनाउँदै आएका छन् । उनले भने, ‘समाचकेवा थारुको रगतसँगको सम्बन्ध छ । यो इतिहासमा थारु राजाहरुको कहानी समेटिएको छ । समा राजाकी छोरी थिइन् । बुवाको आदेशलाई पालना गर्न घरबाट वनबास जानु पर्‍यो । आफ्नै मौलिक परम्परा गीत र संगीत छ । त्‍यसकारण यसको महत्व थारु समाजमा धेरै छ।’ कार्यक्रममा थारु कानून व्यावसायी सभाको महासचिव श्रवणकुमार चौधरीले समाचकेवा थारुको मौलिक गीति चाड भएकाले यसलाई जोगाउनुपर्ने बताए । उनले भने, ‘समाचकेवा थारुको मौलिक गीति र जीवन्त संस्कृति हो । यसलाई जोगाउनु नै आजको आवश्यकता छ ।’ मौलिक संस्कृतिलाई संरक्षण गर्नुपर्ने उनको भनाइ छ । यस्तै थारु महिला रेनु चौधरीले समाचकेवा भाइबहिनीप्रतिको माया, प्रेम, सद्भाव र जिम्मेवारी तथा समाजमा भएका भएका विभिन्न व्यक्तिहरुको चरित्र चित्रण गरेको बताए ।

उनले समाचकेवामा कुरौटे (चुगला) को उदाहरण दिँदै भनिन्, ‘समाचकेवामा कुरा लगाउने, अरुप्रति चुक्ली लगाउने, छलछाम गर्ने चुगला नामक पात्र हुन्छ जसको प्रत्येक दिन समा खेल्दा जुँगा डढाउने गर्छन् दिदीबहिनीहरु । हाम्रो समाजमा पनि यस्ता पात्रहरु भेटिन्छन् । जसलाई सोही अनुसार दण्ड सजाय हुन्छ ।’ परिवार र समाजमा कुरा लगाउनेप्रति सधैं सचेत हुने सन्देश समाचकेवाले दिएको उनले बताइन्। बाँसको नाङ्लोमा काँचो माटोबाट विभन्‍न आकारका मूर्तिहरु बनाइएका छन् जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्‍याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेल्ने गरिन्छ । तमुबौद्धमा समाचकेवा खेलिसकेपछि थारु महिला सभाले धोबीखोला किनारमा समाचकेवा (जल बिसर्जन) सेलाएका छन् । त्यसअघि आपसमा छोरीहरु बैहैनपा (मितनी), छोराहरुले बगैरिया/भाइजी/गोदिया (मित) लगाएका छन् । यसले थारु समुदायमा समाचकेवाको जस्तै मितिनी वा मीतको मर्यादा कायम रहन्छ भन्‍ने किंवदन्ती छ । त्यसअघि मिल्‍ने छोरीहरु बैहैनपा (मितनी), छोराहरुले बगैरिया/भाइजी/गोदिया (मित) लगाउने थारु समाजमा अहिले पनि चलन छ ।