१९ मंसिर २०८१, बुधबार 1733319258
Banner

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी जिङ्पिङबीच भेटवार्ता

बेइजिङ (चीन)-चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ता गर्नुभएको हो।

मंगलबार दिउँसो बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुवै देशका कार्यकारी प्रमुखबीच द्विपक्षीय भेट भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग ग्रेट हल अफ पिपलमा भेट गर्नुभएको थियो। सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत हुनुहुन्थ्यो। प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चारदिवसीय भ्रमणका क्रममा हिजो अपराह्न यहाँ आइपुग्नुभएको हो ।