काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजबिच एकता घोषणा गरिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आज काठमाडौँमा एकता घोषणा समारोह आयोजना गरी दुई संगठनबिच एकता गरिएको हो।
यो सङ्गै डा.बाबुराम भट्टराई नेतृत्वको नेसपानिकट शिक्षक समाजका सबै तहका कमिटी एकीकृत अखिल नेपाल शिक्षक संगठनमा समाहित भएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षक समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गरेका हुन् । कार्यक्रममा दुवै संगठनका केन्द्रदेखि स्थानीय तहसम्मका सबै कमिटीबिच एकता भएको घोषणा गरिएको थियो ।
संगठनका अध्यक्ष शंकर अधिकारीले शिक्षका हकहितका आवाज पूरा गर्न एकता र ध्रुवीकरण आवश्यक रहेको बताए । शिक्षक संगठनहरुसित सरकारले गरेका सम्झौता पूरा गराउन फेरि एकताबद्ध आन्दोलन आवश्यक रहेको बताए । समाजका अध्यक्ष गौतमले शैक्षिक आन्दोलनलाई अघि बढाउन एकता आवश्यक रहेको बताए । समाजवादी शिक्षा प्रणालीका लागि समाजवादी बौद्धिक शक्ति एक हुनुपर्ने उनले बताए ।