१९ श्रावण २०८३, मंगलबार 1785833640
Banner

राजनीतिक कोर्ष बदल्ने बेला आएको छः अध्यक्ष दाहाल

काठमाडौँ, २२ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक कोर्ष बदल्नुपर्ने बेला आएको बताउनुभएको छ । माओवादी केन्द्र गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको आज यहाँ दोस्रो अधिवेशनको उद्घाटन गर्दै यहाँले शासकीय स्वरुप र निर्वाचन प्रणाली बदलेर मात्रै राजनीतिक कोर्ष बदल्न सकिने धारणा राख्नुभयो ।

अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र सांसद नभई विज्ञ व्यक्ति मन्त्री बन्ने व्यवस्थामा गए मात्रै आफ्नो पार्टीले उठाउँदै आएको जनताको गणतन्त्र सुदृढ गर्न सकिने बताउनुभयो । विभाजनको शृङ्खला रोकिएर एकताको प्रक्रिया सुरु भएको उल्लेख गर्दै उहाँले अब कोही समूह वा नेताले मात्रै रोकेर कार्यकर्ता र जनता नरोकिने जिकिर गर्नुभयो । अब विभिन्न धारामा बाँडिएका शक्तिबीचको एकतालाई जोडेर लैजानुपर्ने अध्यक्ष दाहालको भनाइ थियो ।

यसैगरी उहाँले जनयुद्धको तयारीदेखि पछिल्लो समयसम्म पार्टी नेतृत्वको वैचारिक तथा भौतिक रक्षामा गोरखा जिल्लाको अग्रणी भूमिका रहेको भन्दै प्रशंसा गर्नुभयो । अध्यक्ष दाहालले देशभर निराशा छाएको बेला विसं २०७९ मा नौवटा स्थानीय तह र हालै सम्पन्न उपनिर्वाचनमा पहिले पराजित भएका ठाउँमा पनि जितेर नयाँ इतिहास बनाएको बताउनुभयो ।