२९ मंसिर २०८१, शनिबार 1734200858
Banner

जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन दिँदैनौँ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताएका छन् । शुक्रबार काठमाडौँमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभा उद्घाटनमा उनले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठुलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धराशायी हुन नदिने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने बताए । उनले घरजग्गा कारोबारमा देखिएको शिथिलताको प्रभाव अरू क्षेत्रमा देखिएको भन्दै यसलाई गति दिनका लागि सरकारले आवश्यक वातावरण बनाउने उल्लेख गरे । जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिनका लागि आफू सकारात्मक रहेको भन्दै अर्थमन्त्री पौडेलले यस विषयमा छलफलमा आउन व्यवसायीहरूलाई आग्रह गरे ।  उनले अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने ऐन कार्यान्वयनका लागि नियमावली बनाउन सरकारको ध्यान जाने जानकारी दिए ।