स्याङ्जा- स्याङ्जाको भीरकोट नगरपालिकामा गोठ र घरमा आगालागी हुँदा करिब २० लाख बराबरको क्षति भएको छ । वडा नं १ भलुवाडाँडा निवासी डोलनारायण श्रेष्ठ (स्याङ्जाली बा) को घरमा विद्युत सर्ट भएर आगालागी हुँदा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
आगोलागीका कारण घरमा करिब ५० प्रतिशत क्षति भएको छ । बिहिबार साँझ भएको आगालागीमा श्रेष्ठको ३ तले ७ कोठाको घरको माथिल्लो तलामा धेरै क्षति भएको छ ।
साँझ करिब ५.३० बजे विद्युत सर्ट हुँदा भएको आगालागी करिब २ घन्टापछि नियन्त्रणमा आएको थियो । स्थानीय, जनप्रतिनिधि र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
आगालागीमा परी श्रेष्ठको नगद १ लाख ३० हजार रूपैयाँ, ७ तोला सुनका गरगहना, लत्ताकपडा, सिरक-डसना, फर्निचर, खाद्यान्न र पराल गरी करिब २० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।