काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटीमा पुष्पकमल दाहाल प्रचण्ड रहेको बताएका छन् । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा पोखरेलले प्रचण्ड फेरि पनि प्रधानमन्त्री बन्छु भन्दै हिडेको बताए । ‘अझै अब म नै प्रधानमन्त्री बन्छु भन्दै प्रचण्ड मजाक गर्दै हिड्नु भएको छ’, महासचिव पोखरेलले भने । यसरी कमजोर पार्टीले बलिया शक्तिमाथि शासन गर्न खोजेकाले नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्नु परेको उनले बताए ।
महासचिव पोखरेलले आगामी चुनावपछि कमजोर शक्तिको शासन अन्त्य हुने बताए । उनले एमालेले बहुमत ल्याउन दाबी पनि गरे । ‘नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने कुरा नै अबको हाम्रो मिसन हो । एउटा पार्टीको सरकार नबनी देश बन्दैन’, पोखरेलले भने । महासचिव पोखरेलले सिंगो देश बलियो बनाउन क्षेत्रीय पार्टीमा मत विभाजन हुन नहुने पनि बताए ।