काठमाडौं । ऊर्जामन्त्री दिपकबहादुर खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेका छन् । ऊर्जा मन्त्री खड्काले यसअघि सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै फेरि २४ घण्टे स्पष्टीकरण सोधेका हुन् । उनले (कुलमानलाई)तपाईंलाई प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने भनेर प्रश्न गरेका छन् ।

पत्रमा भनिएको छ, ‘यसअघि तपाईंले पेस गर्नुभएको स्पष्टीकरण वस्तुगत र चित्त बुझ्दो नभएको हुँदा मन्त्रालय र तपाईंबीच गत माघ ५ गते भएको कार्य सम्पादन सम्झौताको व्यवस्था बमोजिम तथा प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधन सहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने ?’
घिसिङलाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोधिएको ऊर्जा मन्त्री खड्काको सचिवालयले जनाएको छ । पत्रमा भनिएको छ, ‘१२ फेब्रुअरी २०२५ मा भारतको नयाँ दिल्लीमा भएको नेपाल–भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा नेपाली प्रतिनिधिमण्डलको टोलीनेताको हैसियतमा त्यसतर्फ जाँदा कुन निकायको स्वीकृति लिएर जानुभएको हो ? नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूची १ को विषयसंख्या २० र २३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषदमा पेस गर्नुपर्ने विषयमा तपाईंले अर्थ मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी प्राप्त गर्नुभएको हो ?’
सञ्चालक समितिको निर्णयविपरित र ऊर्जामन्त्री र सचिवलाई विना जानकारी प्रतियुनिट १० देखि १२ पैसा बढी तिरेर बिजुली खरिद सम्झौता गरेपछि स्पष्टिकरण सोधिएको मन्त्रालयले जनाएको छ । विद्युत प्राधिकरणले १३२ केभी प्रसारण लाइनबाट प्रतियुनिट ७.९० रुपैयाँमा बिजुली खरिद सम्झौता गरेकोमा कार्यकारी निर्देशक कुलमानले १० देखि १२ पैसा बढाएर सम्झौता गरेको आरोप मन्त्रालयको छ ।
मन्त्री खड्काले गत पुस २२ मा पनि घिसिङलाई स्पष्टीकरण सोधेका थिए ।


