काठमाडौं । ह्वाइटहाउसमा पुनरागमन गरेपछि खर्च कटौतीको लागि भन्दै अनेक प्रतिबन्ध र आर्थिक सहायता रोक्का गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा हार्वर्ड विश्वविद्यालय पनि परेको छ । नीति सुधारका लागि गत साता पठाइएको सूची अस्वीकार गरेको कारण देखाउँदै ह्वाइट हाउसले हार्वर्डको दुई अर्ब डलरको कोष नै रोक्का गरेको समाचार संस्था बीबीसीले जनाएको छ । बीबीसीका अनुसार ह्वाइट हाउसले गत साता हार्वर्डलाई मागहरूको सूची पठाएर नीतिगत परिवर्तनको लागि भनेको थियो । ट्रम्प प्रशासनले पठाएका मागमा शासन, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनहरू समावेश थिए ।
राष्ट्रपति ट्रम्पले गत वर्ष गाजामा भएको युद्ध र इजरायललाई अमेरिकी समर्थनको विरोधमा देशभरका कलेज क्याम्पसहरू उथलपुथल हुँदा प्रमुख विश्वविद्यालयहरूले यहुदी विद्यार्थीहरूलाई सुरक्षा दिन असफल भएको आरोप लगाएका छन् । त्यसैलाई मध्यनजर गर्दै उनले हार्वर्ड विश्वविद्यालयको शैक्षिक प्रणाली, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनको लागि भनेको थियो । उक्त मागहरू हार्वर्डले अस्वीकार गरेपछि ट्रम्प प्रशासनले सोमबार कोषमा भएको रकम रोक्का गर्ने निर्णय गरेको हो ।
हार्वर्ड विश्वविद्यालयलाई ट्रम्प प्रशासनले पठाएको माग अस्वीकार गर्न आह्वान गर्दै भएको प्रदर्शन ।
हार्वर्डलाई पठाइएको पत्रमा मागहरूको अद्यावधिक र विस्तारित सूची पठाइएको थियो । साथै, ट्रम्प प्रशासनले सरकारसँगको आर्थिक सम्बन्ध कायम राख्न सरकारले भनेको कुरा पालना गर्नुपर्ने चेतावनी पनि दिएको थियो । ‘हामीले हाम्रो कानुनी सल्लाहकारमार्फत प्रशासनलाई जानकारी गराएका छौं कि हामी उनीहरूको प्रस्तावित सम्झौता स्वीकार गर्दैनौं,’ विश्वविद्यालयका एक अधिकारीले भने, ‘विश्वविद्यालयले आफ्नो स्वतन्त्रता त्याग्ने छैन वा आफ्नो संवैधानिक अधिकार त्याग्ने छैन ।’ ट्रम्प प्रशासनको नीति परिवर्तन गर्न दबाबलाई अस्वीकार गर्ने यो पहिलो प्रमुख अमेरिकी विश्वविद्यालय भएको बीबीसीको भनाइ छ ।